२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

‘पहाड’ २४औं फिल्म हो तुलसी घिमिरेको

 

तुलसी घिमिरेको नाम सुन्नेबित्तिकै धेरैको मानसपटलमा एक–से–एक सुपरहिट नेपाली फिल्म, ती फिल्मका कालजयी गीत र दृश्यहरू घुम्न थाल्छन् ।

‘कुसुमे रूमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘बलिदान’, ‘देउता’, ‘दर्पण छायाँ’ लगायतका फिल्मबाट दर्शकको मन जितेका यी हस्ती नौ वर्षपछि नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन् । ७४ वर्ष उमेरमा उनले निर्देशन गरेको फिल्म ‘पहाड’ मंगलबारबाट प्रदर्शनमा आउँदैछ।

यो फिल्मले पहाडको मर्म र पलायनको कथा भन्छ।

निर्देशक घिमिरेको बुझाइमा पलायनको विषय नयाँ होइन। नेपाली समाजमा धेरै पहिलेदेखि नै यो समस्या रहँदै आएको उनी बताउँछन्।

लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’ सम्झिँदै उनी भन्छन्, ‘मुनामदनमा पनि मदन पैसा कमाउन भोट जाने कथा छ। हामीकहाँ पलायनको कथा पुरानै हो, तर अहिले यसले झन् डरलाग्दो रूप लिएको छ।’

‘पहिलेका पुस्ता विदेश गएर पैसा कमाउँथे र त्यो कमाइ लिएर स्वदेश फर्किन्थे। अहिलेका पुस्तामा स्थायी रूपले बसाइँ सर्ने चलन बढेछ। यही परिवर्तनले गाउँहरू रित्तिँदै गएका छन्,’ घिमिरेले भने।

समाजमा व्याप्त पलायनको यो चलनलाई नजिकबाट भोगेका घिमिरे फिल्म तयारीका क्रममा विभिन्न स्थान पुग्दा देखेको दृश्यले झनै झस्काएको बताउँछन्।

‘राम्रो–राम्रो घर बनेका छन्, तर मान्छे छैनन्,’ मार्मिक अनुभव सुनाउँदै उनले भने, ‘लोकेसन हेर्न जाँदा मलामी महिलाहरू मात्र देखेँ, त्यो दृश्यले मलाई भित्रैसम्म हल्लायो ।’ घिमिरेका अनुसार ‘पहाड’ को कथा धेरै पहिले नै तयार गरेको भए पनि अहिलेको समय सुहाउने गरी पुनर्लेखन गरेका हुन्।

राजा महेन्द्रको पालामा ल्याइएको ‘गाउँ फर्क’ अभियानको सन्दर्भ जोड्दै उनले भने, ‘गाउँ फर्किनु पर्ने सोच धेरै अघि नै आएको थियो, अहिले त्यसलाई फेरि नयाँ सन्दर्भमा प्रस्तुत गरेका छौं ।’ उनले यो विषयमाथि धेरै वर्षअघि भारतको मुम्बईमा हुँदा खासगरी युवा पुस्तासँग छलफल गरेका थिए। सुरूमा धेरै कथा अस्वीकार भए पनि ‘पहाड’ को कथा सुनेपछि धेरैले सकारात्मक प्रतिक्रिया दिएको उनी सम्झन्छन् ।

‘पहिले अरू कथा सुनाउँदा सबैले बकवास भने तर यो कथा सुन्दा धेरैले मन पराए,’ उनले भने, ‘सोच्न बाध्य बनाउने कथा रहेछ भन्ने प्रतिक्रिया आयो।’

घिमिरेका अनुसार ‘पहाड’ मा उनले उठाएको विषय नेपालको मात्र समस्या होइन। यो कालिम्पोङ, दार्जिलिङ, आसाम, मेघालय, गडवाल लगायतका धेरैजसो पहाडी भेगको समस्या हो।

घिमिरेको अघिल्लो फिल्म ‘दर्पण छायाँ–२’ थियो। त्यो फिल्म उनले केही वर्षको अन्तरालमा बनाएका थिए। त्यो अन्तरलाई उनी ‘सिकाइको समय’ का रूपमा लिन्छन्। फिल्म निर्माण र प्रविधिमा आइरहेको तीव्र परिवर्तनका कारण आफू केही समय अलमलमा परेको उनको भनाइ छ।

‘त्यो मेरो लर्निङ टाइम थियो। त्यति बेला जसरी फिल्म बन्थ्यो, त्यो अहिलेको पुस्ताले कल्पना गर्न नसक्ने प्रविधि थियो। फिल्म छायांकनमा हामी पूरै ‘ब्लाइन्ड’ जस्तै हुन्थ्यौं, निर्देशकले समेत नहेरी क्यामराम्यानकै भरोसामा काम गर्नुपर्थ्यो,’ घिमिरेले भने, ‘त्यति बेलाको फिल्म मेकिङ र अहिलेको डिजिटल फिल्म मेकिङबीच ठूलो छलाङ आइसकेको छ। यसबीच हामी के गर्ने, कसरी गर्ने अलमलमा पर्‍यौं। प्रविधि यति छिटो बदलियो, त्यस अनुसार आफूलाई ढाल्न समय लाग्यो।’

पहिले आफू एक्लैले फिल्म सम्पादनदेखि निर्माणसम्मको धेरै जिम्मेवारी सम्हाल्ने गरेकामा अहिले धेरै काम अरूमाथि निर्भर हुनुपर्ने उनले बताए। तैपनि नयाँ पुस्तासँगको सहकार्यलाई उनले सकारात्मक रूपमा लिएका छन्।

‘यसले के फाइदा गर्‍यो भने नयाँ प्राविधिक र युवा पुस्तासँग काम गर्ने अवसर मिल्यो। उनीहरूको सोच र हाम्रो अनुभव मिसिँदा राम्रो कृति बन्ने अनुभूति भयो,’उनले भने। निर्देशनमा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाएका तुलसी घिमिरे युवावस्थामा ‘हिरो’ बन्ने सपना बोकेर भारतको कालिम्पोङबाट मुम्बई पुगेका थिए। मुम्बई पुगेपछि उनले सपनाभन्दा फरक यथार्थ देखे।

‘म हिरो बन्न गएको थिएँ, तर त्यहाँ पुगेपछि थाहा भयो, हिरोभन्दा माथि निर्देशक हुँदो रहेछ,’ उनी सम्झिन्छन्, ‘त्यस बेला चकलेटी हिरोहरू मात्रै चलिरहेका थिए। आफूलाई त्यसमा फिट पनि देखिनँ।’

संघर्षका दिनमा उनले शृंगार, लाइट, छायांकन लगायतका विभिन्न काम गरे। जे काम पायो, त्यही काम गर्दै आफूलाई फिल्म निर्माणसँग जोडिएका विभिन्न पक्षमा निखार्दै लगे। त्यसले उनलाई फिल्मको प्राविधिक पक्षमा निपुण बनायो। त्यसपछि उनले ‘श्रद्धाञ्जली’, ‘हुकूमत’ जस्ता थुप्रै हिन्दी फिल्ममा पूर्ण सम्पादकका रूपमा काम गरे।

उनको जीवनमा एउटा महत्त्वपूर्ण मोड तब आयो, जब उनले आफ्ना गुरूबाट गुरूदक्षिणाका रूपमा एउटा ‘गुरूमन्त्र’ पाए।

त्यसबेला निर्देशक प्रकाश थापा ‘सिन्दुर’ फिल्मको सम्पादनका लागि मुम्बई पुगेका थिए। तुलसीका गुरूले भनेपछि फिल्म सम्पादनमा तुलसी घिमिरे पनि संलग्न भएका थिए। त्यही बेला गुरूले सोधेछन्, ‘नेपाली भाषामा अहिलेसम्म कति फिल्म बने?’

घिमिरेले जबाफ दिए, ‘त्यही ७/८ वटा होला।’

‘पछि उहाँले गुरू पूर्णिमाकै दिन मलाई भन्नुभयो, तैंले नेपाली भाषामा १० वटा फिल्म बनाउनू,’ तुलसी घिमिरेले आफ्ना गुरूले दिएको मन्त्र वा आज्ञा सम्झँदै भने, ‘त्यति बेला म मुम्बईमा बसेर भर्खर कमाउन थालेको थिएँ, कुन पैसाले फिल्म बनाउने भन्ने अन्योल थियो। एक–दुई दिनपछि गएर जबाफ दिन्छु भन्ने सोचेको थिएँ, तर गुरू बित्नुभयो।’

त्यसपछि गुरूको आज्ञालाई नै मार्गदर्शन मानेर अगाडि बढेको उनी बताउँछन्।

‘त्यही नै मेरो लागि गुरूमन्त्र र गुरूदक्षिणा बन्यो,’ घिमिरेले भने, ‘नेपाल आएर बंगाली निर्मातासँग मिलेर ‘बाँसुरी’ बनाएँ। दोस्रो फिल्म ‘कुसुमे रूमाल’ बनेपछि भने फर्केर हेर्नुपरेन।’

२०३८ सालमा ‘बाँसुरी’ निर्माण गरेका घिमिरेको दसौं फिल्म ‘दक्षिणा’ थियो। यसबीच उनी निरन्तर नेपालमै रहेर फिल्म निर्देशनमा सक्रिय रहे। निरन्तरताको ऊर्जाबारे सोध्दा निर्देशक घिमिरे आफूलाई शारीरिक स्वास्थ्य र पारिवारिक संस्कारले निरन्तर प्रेरित गरिरहेको बताउँछन्।

‘एक त हेल्थ फिट राखेको छु। अर्को आमाको पनि आज्ञा थियो– फिल्ममा राम्रा/राम्रा कुराहरू भन्नू है,’ उनले भने।

‘पहाड’ तुलसी घिमिरेको २४औं फिल्म हो। यो फिल्म उनका लागि भावनात्मक रूपमा नजिक छ। फिल्मसँग जोडिएका पुराना सहकर्मीदेखि पारिवारिक सहभागितासम्मले यसलाई अझ विशेष बनाएको छ।

‘पहिले यसको संगीत निर्देशक नारायण गोपाल दाइ हुनुहुन्थ्यो। उहाँले ‘तुलसी, फिल्मको स्टोरी गज्जब छ, छिटो गीत लेख’ भन्नुहुन्थ्यो। रञ्जित गजमेर दाइले पनि ‘यो फिल्म म गर्छु’ भन्नुभएको थियो। नारायण दाइले मजाकमै ‘मेरो पेटमा लात हानेको’ भन्दै जिस्किनुहुन्थ्यो,’ घिमिरे सम्झन्छन्।

उनका अनुसार यो नारायण गोपालको निधन हुनुभन्दा करिब एक वर्षअघिको कुरा हो।

‘चिनो फिल्मको रेकर्डिङका लागि जाँदाको कुरा हो। उहाँले बारम्बार ‘गीत लेख, तिमी राम्रो लेख्छौ’ भन्नुहुन्थ्यो, तर म भागिरहन्थेँ,’ उनले भने।

घिमिरेले मुम्बईमा बस्दा केही पंक्तिहरू लेखेका छन्। ‘यहीँ छ मेरो आमाको सपना, यही माटोमा छ पुर्खाको हाड, शताब्दी शताब्दी के पर्खन्छ, मधेसको माटोमा उभिएर पहाड’ जस्ता पंक्ति लेखेपछि उनी नारायण गोपाललाई देखाउँथे।

ती पंक्ति पढेर नारायण गोपाल भन्थे, ‘लेख्न त आउँछ नि।’

घिमिरेका अनुसार त्यति बेला आफू मुम्बईमै रहेको भए गीत रेकर्डसमेत हुन सक्थ्यो। तर अचानक काम परेर नेपाल फर्किनुपर्‍यो।

फिल्म ‘पहाड’ मा उनले यसअघि ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि लिएका छन्। सुनिल थापालाई केही समयअघि गुमाउनुपर्दा उनी दुःख व्यक्त गर्छन्।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।