पाकिस्तान :
इरान र अमेरिकाबीचको कुटनीतिक संवादले पुनः नयाँ मोड लिएको छ। लामो समयदेखि जारी गतिरोध र क्षेत्रीय तनावलाई कम गर्ने उद्देश्यका साथ दुई देशका प्रतिनिधिहरू फेरि एकपटक वार्तामा बस्ने भएका छन्।
इरानी अधिकारीहरूलाई उद्धृत गर्दै प्राप्त पछिल्लो जानकारी अनुसार, इरान र अमेरिकाका वार्ताकारहरूबीच आगामी सोमबार पाकिस्तानको राजधानी इस्लामाबादमा महत्वपूर्ण बैठक हुने भएको छ। यस वार्ताका लागि दुवै देशका उच्चस्तरीय टोलीहरू आइतबार नै इस्लामाबाद पुग्ने अपेक्षा गरिएको छ।
सीएनएनका अनुसार, यसअघि भएका विभिन्न चरणका वार्ताहरूमा ठोस सहमति हुन नसके पनि यसपटकको भेटघाटलाई निकै अर्थपूर्ण मानिएको छ। विशेषगरी मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौती र दुई देशबीचका रणनीतिक विषयहरूमा यो वार्ता केन्द्रित रहने बुझिएको छ।
दक्षिण एसियाली मुलुक पाकिस्तानले यी दुई शक्ति राष्ट्रहरूबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ। सोमबार हुने वार्ताका लागि इस्लामाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यस वार्ताको नतिजालाई निकै चासोका साथ पर्खिरहेका छन्।












