२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

गण्डकीमा चुपचाप मन्त्रिपरिषद् हेरफेर

 

पोखरा । गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेले पुराना सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएका छन् । कांग्रेसबाट बुधवार ४ र एमालेबाट ४ जना नयाँ मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले झन्डै २ वर्षपछि मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।  २०८० भदौमा एमालेका मन्त्री नियुक्त भएपछि स्थिर रूपमा चलेको गण्डकी सरकारका मन्त्रीहरू आज चर्चाबिना परिवर्तन गरिएको हो ।  मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेरबारे निकटस्थहरूलाई समेत सुइँको नदिएर आन्तरिक रूपमा गृहकार्य गरिरहेका थिए । चैत २६ गते नै नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिए पनि प्रदेश प्रमुख डिल्लीराज भट्ट मनाङ घुम्न गएका कारण समयमा रोकिएको थियो ।  

बुधवार पौने ११ बजेतिर एक्कासि सबै सचिव र सांसद लगायत सरोकारवालालाई गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूलाई ११ः४५ बजे पर्यटन बोर्डको सभा हल ड्यामसाइड पोखरामा पद तथा गोपनीयताको शपथ दिलाउने जानकारी प्रदेश प्रमुखको कार्यालयले गराएको थियो । 
विगतमा हल्लाखल्ला गरेर मन्त्रिपरिषद् परिवर्तन गरिने गण्डकीमा यस पटक असन्तुष्टि बढ्ने भयले शपथको मात्रै निम्तो पाएपछि सांसदहरू रुष्ट बनेका छन् । कांग्रेस सांसद दोर्ण कुँवरले सांसद पदबाटै राजीनामा दिएका छन् । उनले सभामुखलाई ह्वाट्सएप मार्फत राजीनामा पत्र पठाएको जानकारी दिएका छन् ।  
 

मन्त्री हेरफेर गर्ने कुरामा कांग्रेस केन्द्रमा सहमति नभएको पाइएको छ । सहमहामन्त्री योगेन्द्र चौधरीले सबै प्रदेशमा मन्त्री फेरबदलको विषयमा कुराकानी चले पनि गण्डकीमा आजै परिवर्तनबारे पदाधिकारी तहमा कुनै जानकारी नभएको बताए । ‘सबै प्रदेशमा मन्त्रीहरू फेरबदल गर्ने कुरा चलेको थियो । गण्डकीमा आजै परिवर्तन गर्ने भन्ने विषय पदाधिकारी तहमा ब्रिफिङ भएको थिएन,’ सहमहामन्त्री चौधरीले लालबिहानीसँग भने, ‘समन्वय गर्न उपसभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएका थियौँ । अहिलेसम्म उहाँले हामीलाई ब्रिफिङ गर्नुभएको छैन ।’ 

नयाँ मन्त्रीहरू अधिकांश संस्थापन पक्षका छन् । ऊर्जा मन्त्री नन्दप्रसाद न्यौपाने गगन समूहमा खुलेर लागेका थिए । सामाजिक मन्त्री रेखा गुरुङ र वन मन्त्री नम्डु गुरुङ पनि गगन निकटकै हुन् । मुस्ताङका सभापति रोमी गौचन निकटका उनीहरूले पाण्डेलाई दलको नेतामा मत दिएका थिए । फरक गुटको भए पनि अहिले मन्त्री बनेका सबै जना पाण्डेलाई मत दिएकाहरू छन् । 
अर्थमन्त्री जित शेरचन कृष्ण सिटौला निकटका हुन् । उनलाई पार्टीका महामन्त्री प्रदीप पौडेलसँग जोडेर हेर्ने गरिन्छ । अहिले मन्त्री बन्ने क्रममा पनि पौडेलले नै दबाब दिएको चर्चा छ । दलको नेताको निर्वाचनमा पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाएका थिए । अर्को एक मत बदर भएको थियो । मुख्यमन्त्री पाण्डे निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । तर, उनले देउवा समूहका नेतासँग पनि छलफल गरेनन् । आफ्नै समूहको मुख्यमन्त्री भए पनि आफूलाई मन्त्री नबनाएको झोकमा सांसद कुँवरले राजीनामा दिएको देउवा समूहका एक पदाधिकारी तहका नेताले बताए ।
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।