२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

 

काठमाडौँ । फागुन २१ को निर्वाचनमा ‘लज्जास्पद’ नतिजा प्राप्त भएसँगै नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ । यो बहस कुनै औपचारिक पार्टी कमिटीको फोरमभन्दा पनि नेता कार्यकर्ताहरू बिचको आन्तरिक छलफल, संवाद र भेटघाटमा सीमित छ, जसलाई अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट फर्केपछि बस्ने सचिवालय बैठकमार्फत औपचारिकता दिने तयारी रहेको एमाले नेताहरूको भनाइ छ ।

नेतृत्वको कार्यशैली र उपयुक्त निर्णय अभावमा भदौ २३ र २४ को आन्दोलनमा भएको क्षति र त्यसपछि सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनले पनि समग्र पार्टी पंक्तिमा कुनै उत्साह र सुधार नभएपछि एमालेको वडा तहदेखि केन्द्रसम्मै असन्तुष्टि बढेको आन्तरिक विश्लेषण भइरहेको छ । सोही विश्लेषणका आधारमा पार्टीका कतिपय शीर्ष नेताहरू नै पार्टी पुनर्गठन अनिवार्य भएको ठहर गर्न बाध्य भएका हुन् ।

एमालेका युवा, विद्यार्थी र बुद्धिजीवी नेताहरूले त पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान नै सुरु गरिसकेका छन् । सुरुवाती चरणमा पार्टी पुनर्गठनको मागलाई बेवास्ता गर्दै आएका संस्थापन पक्षका कतिपय नेताहरू नै पछिल्लो समय पुनर्गठनबिना पार्टीको साख जोगाउन नसक्ने मनस्थिति बनाउन पुगिसकेका छन् ।
युवा, विद्यार्थीसहितका नेता कार्यकर्ताको पुनर्गठनको माग अनुसार नेतृत्व निर्णयमा नपुगे पार्टीमा थप गम्भीर क्षति हुनसक्ने अधिकांश नेता–कार्यकर्ताको बुझाइ छ ।
यही बुझाइपछि एमाले अध्यक्ष ओलीसमेत पूर्ववत् अडानबाट पछि हट्ने सङ्केत देखिएको संवादमा रहेका नेताहरू बताउँछन् ।
कार्यकाल सकिनु एक वर्ष अगावै गत पुस पहिलो साता सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले तेस्रो कार्यकालका लागि अध्यक्ष ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो । पार्टीभित्रको असन्तुष्टि साम्य पार्न ओलीले एक वर्ष अगावै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरे पनि चुनावी नतिजाले ओलीको नेतृत्व आम–जनताले मात्र होइन, पार्टीकै सक्रिय नेता–कार्यकर्ताले समेत नरुचाएको संसदको निर्वाचनमा पाएको मत परिणामले पुष्टि गरेको छ ।
फागुन २१ को निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओली पक्राउ परेकाले एमालेले अहिलेसम्म निर्वाचनबारे ठोस समीक्षा गर्न पाएको छैन । ओली हिरासमुक्त भएर हाल पित्त थैलीको शल्यक्रिया गरी शिक्षण अस्पतालमा उपचाररत छन् । उनी केही दिनभित्र अस्पतालबाट डिस्चार्ज भएपछि एमाले सचिवालय बैठक बस्ने तयारी छ । उक्त बैठकमा निर्वाचन परिणामबारे ठोस विश्लेषण गरेर सोही अनुसार पार्टी नीति बनाउने एमालेको तयारी छ ।

‘अब बस्ने एमाले सचिवालय बैठकमा हामी पहिला अध्यक्षको स्वास्थ्य लाभको कामना गर्छौं । त्यो बैठकमा निर्वाचनको समग्र समीक्षा हुन्छ’, एक पदाधिकारीले भने, ‘निर्वाचनमा यो तहको धक्का र असफलता मिल्नुका पछाडि कारण के हो भनेर निष्कर्ष निकालेपछि बाँकी विषयमा प्रवेश गर्छौं ।’ अध्यक्ष निकट मानिएका एमाले महासचिव शंकर पोखरेलले आम निर्वाचन ०८२ मा पार्टीले बेहोर्नु परेको पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको बताएका छन् ।‘निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ’, पोखरेल भन्छन्, ‘प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने छ ।’

निर्वाचन समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्न तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत सङ्कलन गरिरहेको महासचिव पोखरेलको भनाइ छ ।

‘यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनावद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ ।’

पार्टी पुनर्गठन गर्ने तयारीबाट पछि नहट्ने सङ्केत गरेका महासचिव पोखरेलले एमालेसँग जोडिएर आएका कतिपय समाचारहरूको सत्यतामाथि समेत प्रश्न उठाएका छन् । ‘..त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ’, पोखरेलको आग्रह छ ।

महासचिव पोखरेलको यो प्रतिवद्धतामा एमालेका धेरै असन्तुष्ट नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन् । पूर्व राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता खिमलाल भट्टराईले महासचिव पोखरेलको पार्टी पुनर्गठन गर्ने प्रतिवद्धताले सिङ्गो एमालेपंक्तिलाई उत्साहित बनाएको बताए ।

‘यतिबेला एमालेमा गम्भीर आत्मसमीक्षा र प्राप्त शिक्षाका आधारमा नीति, विधि र संगठनमा व्यापक पुनर्गठन अपरिहार्य आवश्यकता बनेको छ’, भट्टराईले भने, ‘पुनर्गठनमा जाँदा विग्रहको बाटो र गुटबन्दीको तरीकाबाट होइन, उच्चस्तरको समझदारीबाट हुनुपर्छ ।’

पुनर्गठन कि ‘वाम’ एकता ?

नेता कार्यकर्ताहरूबिच एमाले पुनर्गठनको चर्चा भइरहेका बेला कतिपय नेताहरू कम्युनिस्ट एकताको पहलमा समेत जुटेको खुलासा भएको छ । तर स्पष्ट नीतिविना गरिने यस्ता एकता दीर्घकालीन नहुने भन्दै त्यसो नगर्न दबाब बढेको देखिन्छ ।

एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले कतिपय नेताहरू नेतृत्वमाथि सङ्कट आइलाग्यो भन्दै फेरि ‘वाम एकता’ को दौडधुपमा लागेको खुलासा गरेका हुन् ।

‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन, तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’ पाण्डेले सामाजिक सञ्जालमै प्रश्न गरेका छन् । तर को–को नेता वाम एकताका लागि दौडधुपमा लागेका छन् भन्नेबारे भने पाण्डेले केही खुलाएका छैनन् ।

‘नेकपा एमाले आफैँमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो । हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ’, पाण्डे भन्छन्, ‘विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युटमात्र गर्छ ।’

पाण्डेले वाम एकतालाई थाती राखेर पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु अहिलेको आवश्यकता भएको भन्दै त्यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित भएको दाबी गरे ।

‘विगतमा वैचारिक आधारविना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ । हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ’, पाण्डेले भने, ‘नेकपा एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ ।’

एमाले संस्थापन पक्षका नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा ढल्किए पनि ओलीपछि नेतृत्व कसले गर्ने भन्नेमा भने नेताहरूबिच अन्योल छ । ओलीपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नेतृत्व (अध्यक्ष) का लागि आकाङ्क्षा देखाएका छन् । यद्यपि ओली, पौडेल र पोखरेलमा खासै भिन्नता नभएकाले उनीहरूभन्दा तल्लो पुस्ताका नेताहरूले नेतृत्व सम्हालनुपर्ने आवाज चर्को बनेको छ ।

योसँगै अध्यक्ष ओलीले सहजै नेतृत्व नछाडे के गर्ने भन्ने ठोस विकल्प तयार नभइसकेको नेताहरूको भनाइ छ ।

विद्या सक्रिय बनेकी हुन् ?

एमाले नेतृत्वमाथि सङ्कटको बादल मडारिएकै बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि बढ्न थालेको छ । यसअघि ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूले भण्डारीलाई पार्टीको सङ्कटपूर्ण अवस्थालाई सहजतामा ल्याउन भूमिका खेल्न दबाब बढाएसँगै भण्डारीको सक्रियता बढेको उनी निकट एमाले नेताहरू बताउँछन् ।

त्यसक्रममा भण्डारीले अध्यक्ष ओलीलाई समेत भेटेर निकासका लागि आग्रह गरेको बताइएको छ । अध्यक्ष ओली अस्पतालमै भएका बेला भण्डारीले उनलाई भेटेर सहज निकासका लागि पहल गर्न भनेको स्रोतको दाबी छ । त्यसबाहेक भण्डारीले केही दिन अघिमात्र केही बुद्धिजीवी र केही वरिष्ठ पत्रकारहरूसँग भेटेर ‘के गर्दा उपयुक्त हुन्छ ?’ भनी सुझाव मागेकी थिइन् । भण्डारीले खासगरी पार्टी सङ्कटका बारेमा सुझाव माग्न बोलावट गरिएका ती व्यक्तिहरूले भने पार्टीभन्दा पनि समग्र देशको नेतृत्वको भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । ‘कुनै एक पार्टीको मात्र होइन, तपाईं समग्र देशको अभिभावक बन्नुपर्छ र त्यो भूमिका निर्वाह गर्नुपर्छ’, पूर्वराष्ट्रपति भण्डारीलाई भेटेका एक जना वरिष्ठ पत्रकारले भण्डारीलाई दिएको सुझाव उद्धृत गर्दै रातोपाटीसँग भने, ‘उहाँलाई कतिपयले एमालेको आन्तरिक राजनीतिमा जोड्ने गरे पनि उहाँ त्योभन्दा माथि उठ्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ । उहाँ स्वयं पनि पार्टीको आन्तरिक विषयमा मात्र सीमित नहुने सङ्केत गर्नुभएको छ ।’

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।