२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

जसको सूचनाले भेप प्रकरण पटाक्षेप भयो, उनीहरूमाथि नै भ्रष्टाचार मुद्दा

 

काठमाडौं । विद्युतीय चुरोट (भेप)भित्र लुकाएर सुन तस्करी गर्ने समूहविरुद्ध प्रमाण जुटाउने र उजुरी दिने कर्मचारीले नै भ्रष्टाचारको अभियोग खेप्नुपरेको छ । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा मुछिएको सुन तस्करी प्रकरणमा सूचना दिने र उजुरी गर्ने कर्मचारीमाथि नै भ्रष्टाचारको मुद्दा चलाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतद्वय मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त प्रकरणमा सुरुमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सीआईबीको अनुसन्धानपछि अख्तियारले पनि भ्रष्टाचारमा छानबिन अघि बढाएको थियो ।

सीआईबीको पहिलो चरणको अनुसन्धान दायरामा महरा परेका थिएनन् । दोस्रो चरणको अनुसन्धानपछि सीआईबीले उनलाई कागज गराएर छाडेको थियो । उनका छोरा राहुलविरुद्ध भने भेप तस्करीमा मुद्दा चलाइएको थियो । यसरी महरा बाबुछोरालाई कानुनी दायरामा ल्याइएको साढे दुई वर्षपछि अख्तियारले उजुरीकर्तामाथि नै मुद्दा चलाएको हो ।

०८० पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले फ्लाई दुबईको विमानबाट नेपाल ल्याइएको ७३० भेपका बट्टा बरामद गरेको थियो । भेपभित्रको सुन भने भन्सार कार्यालयका सुरक्षा गार्ड निर्मल विकले चोरेको अनुसन्धानका क्रममा खुलेको थियो । सुरक्षा गार्डसित कार्यालयका नासु रेवन्त खड्काको समेत मिलेमतो देखिएको थियो ।

भन्सार कार्यालयका तत्कालीन प्रमुख पोखरेलले खड्कामाथि केरकार गरेपछि संलग्नता पुष्टि भएको थियो । हाल खड्का पुर्पक्षका निम्ति जेलमा छन् ।

सुन तस्करीमा कर्मचारी र राजनीतिक नेतृत्वको ‘सेटिङ’ पुष्टि भएको जिकिरसहित अख्तियारले सबै प्रतिवादीसँग जनही सात करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो प्रकरणमा तत्कालीन प्रमुख पोखरेलसहित भन्सारका कर्मचारी मात्र १० जना मुछिएका छन् । यो मुद्दामा महरासहित कुल २९ प्रतिवादी छन् ।

उक्त भेप चिनियाँ नागरिक ली हाङ सुङले ल्याएका दुई सुटकेस जाँचका क्रममा बरामद भएको अनुसन्धानका क्रममा खुलेको थियो ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका पोखरेलसहितका तीन कर्मचारी अहिले पनि जिल्ला अदालत काठमाडौंमा सुन तस्करीको सूचना र प्रतिवेदन दिने सरकारी साक्षीका रूपमा छन् । पोखरेलको लिखित उजुरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । 
 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।