काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले अतिक्रमित जग्गा फिर्ता गर्न शुक्रबार ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ मा अतिक्रमण उल्लेख भएका र नभएका जग्गा खाली गरि आधिकारिक रुपमा फिर्ता गर्न आग्रह गरिएको छ ।
सरकारले गठन गरेको खोजबिन समितिले त्रिविको करिब २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको औंल्याएको छ । जग्गा फिर्ता लिई अतिक्रमणमा संलग्नलाई कारबाही गर्न समेत सिफारिस गरिएको छ ।
प्रतिवेदनमा त्रिवि र यस अर्न्तगतका निकायहरुको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरु केही व्यक्ति, कम्पनी, संघसंस्था वा निकायहरुले विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानुन विपरित अनधिकृत रुपमा कब्जा, भोग तथा नियन्त्रण गरिएको औंल्याईएको छ ।








