काठमाडौं : नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले मंगलबारदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरीसमेत सहभागी भए ।
बैठकमा सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराए । संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममा केही प्रावधानहरू संशोधनको आवश्यकता महसुस गरिएको उनले बताए ।
लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिए । समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आमनागरिकसँग बृहत् छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
कांग्रेसले बनाएको समितिका सदस्यहरूमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितबहादुर बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र नीरज गुप्ता छन् ।









