२०८३ बैशाख १२ शनिबार
Search
२०८३ बैशाख १२ शनिबार

काठमाण्डौ उपत्यकामा अस्वस्थकर वायु

 

काठमाडौं : हाल बढिरहेको वायु प्रदूषणको समाधान सरकारले कसरी गर्छ भन्ने विषय चासोका साथ हेरिएको छ। सरकारले आफ्नो प्रतिबद्धतामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार वायुको गुणस्तर सुधार्ने वचन दिएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालयमा प्रदूषण नियन्त्रणका विषयमा छलफल भएको वातावरण विभागले जनाएको छ।

वायुको गुणस्तरलाई हेर्ने हो भने यो साताभरि नै अवस्था निकै खराब रह्यो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार विभागसहित जल तथा मौसम विज्ञान विभाग र वन विभागले प्रधानमन्त्री कार्यालयसँग मिलेर प्रदूषण नियन्त्रणका उपायबारे छलफल गरेका हुन्। ‘तत्काल के–के गर्न सकिन्छ, त्यसमा केन्द्रित हुने भन्ने कुरा छ। हालको प्रदूषण नियन्त्रण गर्न वन डढेलो रोक्नु अनिवार्य छ,’ सुवेदीले भने, ‘वन डढेलो लाग्नुको यकिन कारण खुल्ने गरेको छैन, ठ्याक्कै यही कारणले लाग्यो भन्ने अवस्था रहँदैन।’

सरकारले आफ्नो प्रतिबद्धतामा सामुदायिक तथा राष्ट्रिय वनको सुरक्षाका लागि उच्च सतर्कता केन्द्र स्थापना गरी ड्रोन र स्याटालाइट प्रविधिमार्फत ‘रियल टाइम’ निगरानी गर्ने उल्लेख गरेको छ। विपद् व्यवस्थापन तथा डढेलो विज्ञ सुन्दर शर्माले डढेलो विकराल समस्याका रूपमा बढेकाले यसलाई हेर्ने छुट्टै संस्थागत निकाय स्थापना गर्ने समय आएको बताउँदै आएका छन्। हरेक वर्ष हजारौं हेक्टर वन डढेलोको चपेटामा परिरहेको र यसले प्रदूषण बढाउन मुख्य भूमिका खेलेको शर्माको भनाइ छ। तर, सरकारले डढेलो नियन्त्रण र प्रदूषण न्यूनीकरणमा कसरी काम गर्छ भन्ने हेर्न बाँकी नै छ।

महानिर्देशक सुवेदी सरकारले डब्लूएचओको मापदण्ड पुर्‍याउने लक्ष्य राख्नुलाई सकारात्मक मान्छन्। उनले भने, ‘लक्ष्य अनुरूप राज्यले स्रोत–साधन, जनशक्ति र प्रविधि परिचालन गर्नुपर्छ। वायुको गुणस्तर सुधार्न सानोतिनो लक्ष्यले पुग्दैन।’

वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार वायु प्रदूषण नियन्त्रणका लागि हरेक देशका आफ्नै मापदण्ड हुन्छन्। ‘नेपाल सरकारको मापदण्डअनुसार २४ घण्टामा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४० हुनुपर्छ। सुरुमा आफ्नै मापदण्ड प्राप्त गरेपछि मात्र अन्य अन्तर्राष्ट्रिय मापदण्डतर्फ सुधार गर्दै लैजानुपर्छ,’ लामिछानेले भने।

प्रायजसो मनसुन बाहेकका समयमा उपत्यकाको प्रदूषणको अवस्था चिन्ताजनक रहने गरेको छ। यतिबेला आन्तरिक स्रोत, उद्योग सञ्चालन र डढेलोका कारण प्रदूषण बढेको हो। लामिछानेका अनुसार पश्चिम तराई तथा चुरे क्षेत्रमा लागेको डढेलोका कारण काठमाडौं, पोखरा, दाङ, सुर्खेत, मुस्ताङलगायत स्थानमा वायु प्रदूषणको तह अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको छ।

विभिन्न मापन केन्द्रहरूले २४ घण्टामा वायुको गुणस्तर १५० देखि २०० एक्यूआईसम्म पुगेको देखाएका छन्। विशेषगरी दक्षिण सीमानातिर पनि धेरै ठाउँमा डढेलो लागेको देखिन्छ। लामो समयदेखि पानी नपरेका कारण नेपाल र आसपासका भू–भागमा प्रदूषण बढेको महानिर्देशक सुवेदीले बताए। उनका अनुसार २४ घण्टाको अवधिमा ३०० एक्यूआई पुगेपछि मात्र ‘विपद्’को अवस्था मानिन्छ, अहिले यो २०० भन्दा कमै छ।

प्रदूषण नियन्त्रणका लागि वातावरण विभाग र प्रहरी प्रशासनले बेलाबेलामा सवारी परीक्षण गर्दै आएको सुवेदीको दाबी छ। यद्यपि, अहिले सवारी आवागमन नियन्त्रण गरेर मात्र प्रदूषण नरोकिने उनको भनाइ छ। विज्ञहरू भने हालको भयावह अवस्थालाई सम्बोधन गर्न सरकारले थप आक्रामक र प्रभावकारी योजना ल्याउनुपर्ने बताउँछन्।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।