काठमाण्डौ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सर्तकर्ता अपनाउन अनुरोध गरेको हो।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने विवरण उपलब्ध गराएको प्राधिकरणले उल्लेख गरेको छ।
विभागका अनुसार उक्त स्थानमा बुधबार साँझ ५ः४५ बजेदेखि हुरी सुरु भई बिहीबार बिहान ७ः४५ बजेसम्म रहने अनुमान छ। त्यसैगरी, मेघगर्जन र चट्याङ र हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहन्छ। प्राधिकरणले यी स्थानमा रहने वा उक्त समयावधिमा त्यहाँ जाने सबैले सावधानी अपनाउन अनुरोध गरेको छ।
हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न प्राधिकरणले सुझाएको छ। यस्तै, जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउन पनि भनेको छ। घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ।
उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहने तथा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र यस प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन प्राधिकरणले उल्लेख गरेको छ।







