काठमाण्डौ : लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो भीषण आक्रमणमा थप ३९ जनाको ज्यान गएको छ। दक्षिण लेबनानको सक्सकिया सहरमा भएको इजरायली आक्रमणमा एक बालिकासहित कम्तीमा ७ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्। इजरायली सेनाले आफूले हिजबुल्लाहका लडाकुहरूलाई लक्षित गरेको र सर्वसाधारणको क्षतिबारे सचेत रहेको बताएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नबातियामा एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरी सवार मोटरबाइकमा ड्रोनले तीन पटकसम्म प्रहार गरेको थियो। यस आक्रमणमा बाबुको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भई उपचाररत छिन्।
हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा तीन इजरायली सैनिक घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १६ मा इजरायल र लेबनान सरकारबीच युद्धविराम सम्झौताको घोषणा गरे तापनि दुवै पक्षबीच गोलीबारी जारी छ।












