काठमाडौं । नयाँ वर्षको अवसर पारेर वैशाख १ गते निकै तामझामका साथ प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले सोचेजस्तो दर्शकको साथ पाउन सकेन ।
राम्रो व्यवसायको आश गरिएको फिल्म बक्सअफिसमा असफल सावित भयो, तर फिल्म क्षेत्रमा छाएको यो सन्नाटालाई वैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले तोडिदियो । रिलिज भएको तेस्रोसातासम्म ४ करोडको व्यवसाय गर्दै अगाडि बढिरहेको फिल्मले लगानी सुरक्षित गरिसकेको छ । अबको व्यवसाय पूरै नाफा हो ।
स्टारको भिडन्त जेठको दोस्रो साता अर्थात् ८ गते ‘काजी’ र ‘मितज्यु’ प्रदर्शनमा आउँदै छन् । यी दुई फिल्ममार्फत पछिल्लो समयका ठुला स्टारहरू विपिन कार्की, दयाहाङ राई र सौगात मल्ल एक अर्कासँग भिड्दै छन् ।‘काजी’ भर्सटाइल अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म हो । लक्ष्मण रिजालको निर्देशनमा बनेको यो फिल्म एक ‘क्लासिक लभस्टोरी’ भएको बताइन्छ । फिल्ममा विपिनका अलावा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे र हेमन्त बुढाथोकीको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत छ । फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।‘मितज्यु’मा दयाहाङ राई र सौगात मल्लको जोडी देख्न सकिन्छ । यी दुई अभिनेताको उपस्थिति नै फिल्म सफल बनाउन पर्याप्त मानिन्छ । यो फिल्मबाट डान्सर तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । अनिल बुढा मगरको निर्देशन रहेको फिल्मले मित्रता र सामाजिक द्वन्द्वको कथा भन्नेछ । शिशिर वाङ्देल र राज थापालगायत कलाकारहरूको अभिनय रहेको यो फिल्मले व्यावसायिक रूपमा ठुलो प्रभाव पार्ने अनुमान गरिएको छ ।
शिक्षा र प्रेमकथा एकसाथ जेठको तेस्रो साता अर्थात् जेठ १५ गते (गणतन्त्र दिवस) दुई फरक धारका फिल्महरू प्रदर्शनमा आउनेछन् । फिल्म हुन् ‘रोल नं १’ र ‘कुम्भ’ । ‘रोल नं १’ ‘पूर्ण बहादुरको सारङ्गी’जस्तो सफल फिल्मका निर्माता विनोद पौडेलले निर्माण गरेका हुन् । शिक्षा क्षेत्रको विकृतिलाई पर्दामा उतारिएको फिल्मका निर्देशक जोन योञ्जन रहेका छन् । फिल्मले सरकारी छात्रवृत्ति र रोल नम्बर १ हुनैपर्ने दबाबले बाल मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने विषय उठाएको छ । मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको यो फिल्म विशेषगरी अभिभावक र विद्यार्थीका लागि लक्षित छ । म्याग्दीका सुन्दर दृश्यहरूमा खिचिएको यो फिल्मले सामाजिक बहस सिर्जना गर्ने निर्माताको दाबी छ ।
‘कुम्भ’ भने इन्डो–नेपाल सहकार्यको फिल्म हो । एक्सन र लभ स्टोरीको समिश्रण फिल्म लामो समय म्युजिक भिडियोमा काम गरेका रन्धिर श्रेष्ठको डेब्यु निर्देशन हो । यसमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको अभिनय र दक्षिण भारतीय फिल्मको जस्तै मेकिङ शैली रहेको बताइन्छ । अशोक आर्यन, सुनिल थापा र सुशील पोखरेलको मुख्य अभिनय रहेको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ ।












