काठमाण्डौ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झन्डै एक दशकपछि पुनः चीनको भ्रमणमा निस्किएका छन्। तर, ट्रम्पले सन् २०१७ मा पहिलो पटक बेइजिङ पुग्दाको तुलनामा यस पटक उनी ‘थप शक्तिशाली र दृढ’चीनको सामना गर्दैछन्।
चीनका राष्ट्रपति सी जिनपिङले ट्रम्पलाई बेइजिङको मुटु मानिने ‘झोङनानहाई’मा भव्य स्वागत गर्ने तयारी गरेका छन् । यो भ्रमणलाई विश्वले निकै चासोका साथ हेरिरहेको छ, किनकि यसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको भावी सम्बन्धको दिशा तय गर्नेछ।
ट्रम्पले यसअघि भ्रमण गर्दाको चीन र अहिलेको चीनमा निकै भिन्नता छ। राष्ट्रपति सीले आफ्नो तेस्रो कार्यकालमा चीनलाई प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, र नवीकरणीय ऊर्जाको विश्वव्यापी केन्द्र बनाउन ‘नयाँ उत्पादक शक्ति’ को अवधारणा अघि सारेका छन्। वार्ताको टेबुलमा व्यापार युद्ध, ताइवानको मुद्दा, र प्रविधिमाथि लगाइएको प्रतिबन्धका साथै मध्यपूर्वको संकट (विशेष गरी इरान) प्रमुख विषय रहनेछन्।
इन्टरनेशनल क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार अली वाइनका अनुसार, २०१७ मा चीनले आफूलाई अमेरिकाको बराबर प्रमाणित गर्न खोजिरहेको थियो। तर अहिले अमेरिकाले नै चीनलाई आफ्नो इतिहासकै सबैभन्दा शक्तिशाली प्रतिस्पर्धीका रूपमा स्वीकार गरिसकेको छ। चीनका लागि यो भ्रमणको सफलता भनेकै अमेरिकी राष्ट्रपतिलाई आफ्नै भूमिमा स्वागत गरेर ‘चीन विश्वका लागि खुला छू भन्ने सन्देश दिन’ हो । ट्रम्पले यो भ्रमणबाट मध्यपूर्वको तनाव कम गर्न चीनको सहयोग माग्ने अपेक्षा गरिएको छ।









