काठमाण्डौ । अमेरिकाको आइडाहो राज्यमा आयोजित एक एयर शोका क्रममा अमेरिकी नौसेनाका दुई सैन्य विमान आकाशमै ठोक्किएको छ।
आइतबार पश्चिमी आइडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा नौसेनाको इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन–१२९ का दुई वटा ईए–१८जी ग्राउलर विमान हवाई प्रदर्शन गरिरहेका बेला एकआपसमा ठोक्किएका हुन्।
विमानमा सवार सबै चार चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
अमेरिकी प्रशान्त बेडाअन्तर्गत नौसैनिक हवाई फौजकी प्रवक्ता कमान्डर अमेलिया उमायामले दुर्घटनापछि सबै चालकदल सदस्यले प्यारासुटमार्फत सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएको जानकारी दिइन्। उनीहरूको अवस्था स्थिर रहेको र अन्य कोही घाइते नभएको जनाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चारवटा प्यारासुट खुल्दै गरेको देखिन्छ भने दुवै विमान आधार क्षेत्र नजिकै भुइँमा खसेर आगोको मुस्लोमा परिणत भएका थिए।









