काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध परेका १६ वटा उजुरी संसदीय सुनुवाइ समितिमा खोलिएको छ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार शर्माविरुद्ध विभिन्न मुद्दाको फैसलादेखि कार्यदक्षतासम्म प्रश्न उठाएर उजुरीहरू आएका छन् । शर्मासमेत सहभागी भएर फैसला भएको एनसेल मुद्दा र अन्य मुद्दामा हारेको पक्षबाट उजुरी आएको सभापति श्रेष्ठले बताए । शर्माबाट न्याय नपाएकाले प्रधानन्यायाधीश बनाउन नहुने जिकिर उजुरीमा गरिएको छ ।
यसैगरी फैसलालाई नै लिएर अमेरिकाबाट नेपाली पूर्वसैनिकले पनि उजुरी दिएका छन् । उनीसँग भर्चुअल छलफल गर्ने तयारी छ । यसैगरी शर्मासँग न्यायालय हाँक्ने क्षमता नभएको भन्दै कार्यदक्षतासँग जोडेर पनि थुप्रै उजुरी परेको सभापति श्रेष्ठले बताए । उजुरीकर्तासँग समितिले छलफल सुरु गरेको छ । छलफल सकिएपछि १ बजेदेखि प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ सुरु गर्ने तयारी छ ।









