२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

बनेपा पुर्‍याइएका विस्थापितको गुनासै गुनासो

 

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सुकुमबासी बस्तीमा डोजर चलाएपछि अहिले हजारौँ मानिसहरू घरविहीन भएका छन् । 

बस्ती भत्काइएपछि कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपयलाई सरकारले विभिन्न होल्डिङ सेन्टरमा राखेको छ । 

यसै क्रममा उपत्यकाका विभिन्न बस्तीबाट विस्थापित भएका ११० जनालाई गत वैशाख २४ गते बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा पुर्‍याइएको छ । होल्डिङ सेन्टरमा बस्दै आएका यी थातथलोविहीन नागरिकको सरकारसँग गुनासै गुनासो र विभिन्न मागहरू रहेका छन् । 

सेन्टरमा खाना र बस्नमा कुनै कमी कमजोरी नदेखे पनि उनीहरूले आफ्ना बच्चाबच्चीको पढाई, रोजगारी र स्थायी बसोबासको माग गरिरहेका छन् ।
शान्तिनगर बस्तीबाट विस्थापित भई होल्डिङ सेन्टर पुगेका दिल बहादुर सुब्बा र कृष्ण कुमारी सुब्बिनीको माग पनि छिटो भन्दा छिटो उचित बसोबासको व्यवस्था हुनुपर्‍यो भन्ने रहेको छ । सरकारले पूर्वसूचना वा समय नै नदिई अचानक घरमा डोजर चलाएको र घरबाट सामान समेत निकाल्न नदिएको उनीहरूको गुनासो छ । 
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका लाल बहादुर लिम्बुले पनि सरकारले छिटो छानबिन गरी वास्तविक गरिब र भूमिहीनको उचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । उनकी १० वर्षीय छोरी मानसिक र शारीरिक रूपमा कमजोर रहेकाले छोरीको उपचारमा सरकारले सहयोग गर्नेमा उनी आशावादी छन् । 

त्यस्तै बालाजु बस्तीबाट विस्थापित भई बनेपा पुगेका ६६ वर्षीय तोयनाथ मिश्रको पिसाब सम्बन्धी गम्भीर समस्या छ । पिसाबको थैली हातमै बोकेर हिँड्न बाध्य भएका मिश्रले ढिलै भए पनि सरकारले आफ्नो उचित व्यवस्था गर्ने आस राखेका छन् । सेन्टरमा रहेका साना केटाकेटीहरूले पनि समयमै विद्यालय जान पाउने वातावरण मिलाउन माग गरेका छन् ।  नेपाल रेडक्रस जनशक्ति विकास प्रतिष्ठानकी विभागीय प्रमुख श्राद्ध श्रेष्ठका अनुसार सहरी विकास मन्त्रालयको पत्राचारपछि वैशाख २४ गते बेलुका तीनवटा गाडीमा ११० जना विस्थापितलाई त्यहाँ ल्याइएको हो । मन्त्रालयले कुल १५४ जनाको आवास तथा खाना व्यवस्थापनका लागि पत्राचार गरेको उनले जानकारी दिइन् ।  बनेपा पुर्‍याइएकाहरूमा विभिन्न उमेर समूह र फरक अवस्थाका मानिसहरू छन्, जसमा एक जना नौ दिनकी सुत्केरी समेत छिन् । विस्थापितहरूमा १८ वर्ष मुनिका २६ जना बालबालिका छन्, जसमा १६ जना बालिका र १० जना बालक छन् । त्यस्तै ज्येष्ठ नागरिकको सङ्ख्या लगभग १६ जना रहेको छ ।

विभागीय प्रमुख श्रेष्ठले प्रतिष्ठानको वास्तविक क्षमता ६० जनाको बेड क्यापासिटी मात्र रहेको स्पष्ट पारेकी छन् । यो मुख्यतः तालिम केन्द्र भएकाले बेड र लजिङको व्यवस्था सिमित भएको अवस्थामा अचानक ११० जना आउँदा व्यवस्थापनमा निकै चुनौती थपिएको उनले बताइन् । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।