काठमाण्डौ सरकारले तिर्नुपर्ने ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रूपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म सार्वजनिक ऋणको आकार ३० खर्ब नजिक पुगेको हो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणमा ५ खर्ब ३२ अर्ब ९१ करोड रूपैयाँ बराबर थपिएको छ । सोही अवधिमा सरकारले २ खर्ब ३१ अर्ब ९२ करोड रूपैयाँ साँवा भुक्तानी गरेको छ। यससँगै १० महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ३ खर्ब ९९ करोड रूपैयाँ बराबर भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रूपैयाँ थियो । वैशाख मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ भने बाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ ।
यस वर्ष अमेरिकी डलर बलियो हुँदा विनिमय दरका कारण बाह्य ऋणमा थप चाप परेको कार्यालयले जनाएको छ । विनिमय दरकै कारण बाह्य ऋण दायित्वमा १ खर्ब ६७ अर्ब ७५ करोड रूपैयाँ थपिएको छ ।
सरकारले चालु आर्थिक वर्षको वैशाखसम्म ३ खर्ब ६५ अर्ब १६ करोड रूपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ। त्यसमध्ये आन्तरिक ऋण २ खर्ब ९८ अर्ब ६६ करोड रूपैयाँ र बाह्य ऋण ६६ अर्ब ४९ करोड रूपैयाँ रहेको छ ।
सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा पनि सरकारको ठूलो रकम खर्च भएको छ। वैशाखसम्म सरकारले २ खर्ब ९२ अर्ब ५२ करोड रूपैयाँ ऋण सेवा खर्च गरेको छ। त्यसमध्ये साँवा भुक्तानी २ खर्ब ३१ अर्ब ९२ करोड रूपैयाँ र ब्याज भुक्तानी ६० अर्ब ५९ करोड रूपैयाँ रहेको छ ।
आन्तरिक ऋणतर्फ सरकारले १ खर्ब ८५ अर्ब ६६ करोड रूपैयाँ साँवा र ५० अर्ब ५२ करोड रूपैयाँ ब्याज तिरेको छ। बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड रूपैयाँ साँवा र १० अर्ब ६ करोड रूपैयाँ ब्याज भुक्तानी भएको छ ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ७ वर्षमा सार्वजनिक ऋण झन्डै दोब्बर भएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म सार्वजनिक ऋण १४ खर्ब ३३ अर्ब ४० करोड रूपैयाँ थियो । अहिले यो रकम बढेर झन्डै ३० खर्ब रूपैयाँ पुगेको छ ।









