काठमाण्डौ भुटानलाई १–० ले हराउँदै नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । सोमबार गोवाको जवाहरलाल नेहरू रंगशालामा नेपालले तीन अंक हासिल गरेको हो ।
योसँगै समूह ‘ए’बाट नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ। अब, नेपालले आइतबार श्रीलंकासँग खेल्नेछ। समूहमा नेपालको तीन अंक छ । त्यसअघि नै श्रीलंका र भुटानबिच बिहीबार प्रतिस्पर्धा हुनेछ । सोमबार नेपालले खेलको २३औँ मिनेटमा गोल गरेको हो। रक्षक गीता रानाको प्रहार भुटानकी इडोनलाई लाग्दै गोल भएको थियो । खेलभर नेपालले थुप्रै गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेन। रेखा पौडेल, अनिता लम्जेल, रश्मीकुमारी घिसिङ, मीना देउवालगायतका खेलाडी बारम्बार गोल अग्रता बढाउन चुकेका थिए । यो खेलसँगै गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले अर्को क्लिनसिट राखेकी छिन् ।









