खोटाङ भोजपुरको साल्पा पोखरी समुद्री सतहबाट करिब ३,४४३ मिटर (११,२९६ फिट) को उचाइमा अवस्थित छ । सोलुखुम्बु, भोजपुर, खोटाङ र संखुवासभा जिल्लाको सीमाना नजिकै पर्ने साल्पा पोखरी किरात राई मुन्दुम, पर्यावरणीय र पर्यटकीय हिसाबले विशेष मानिन्छ । सोे क्षेत्रका नागरिकको उक्त पोखरीको सांस्कृतिक महत्वप्रति निकै आशक्ति छ । पोखरी वरपरका जिल्ला र सिङ्गो किरात राई, गैर किरात नोक्छो, धामी, झाँक्रीहरुले पोखरीको पुकारा र मुन्दुमी दर्शन गर्नैपर्ने मान्यता छ । मुन्दुमी यात्रा गर्दै नोक्छो, धामी, झाक्रीहरु अनिवार्य पुग्नुपर्ने हुन्छ । यसरी मुन्दुमी र भौतिक दर्शन गरेपछी नोक्छोहरुले थप शक्ति प्राप्त गर्ने र भक्तजनहरुको मनोआकक्षा पुरा हुने जनबिश्वास रहेको छ । साल्पा आस्थाको हिसाबले कति महत्वपूर्ण छ भन्ने कुरा यसबाट पनि प्रमाणित हुन्छ ।

यो पोखरी र सँगैको सिलुछो पिक ४,१५६ मिटर(१३,६३५ फिट) को नाममा भोजपुरको ‘साल्पासिलुछो’ गाउँपालिकाको नाम राखिएको छ । यो पोखरीको नामले एउटा बैंक (सालपा बिकाश बैक) समेत खोटाङमा संचालनमा छ । साल्पासिलुछो संरक्षण प्रवद्र्धनमा दुई दशकदेखि क्रियाशील दौलत कुलुङ उक्त पालिकाको स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित अध्यक्ष हुन् । उनी निर्वाचित भएपछी स्थानीय तह, समुदाय र जनस्तरबाट साल्पासिलिचुङ संरक्षणमा तीव्र गतिमा काम भइरहेका छन् । सांस्कृतिक पार्कमा नोक्छोको सालिक निर्माण, पोखरी नजिकै कलात्मक सुप्तुलुङ तिनचुला पूजास्थल, सुम्निमा पारुहाङको, प्रतिमा निर्माणलगायत विशेष कार्य भएका छन् । पोखरीको दक्षिणतर्फ पर्यटकीय सूचना केन्द्र, पर्यटकीय बासस्थलको पनि निर्माण गरिएको छ । साल्पासिलिचुङ संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति मार्फत् रकम संकलन गरेर ती मूर्ति, चिण्डोका गेटलगायत निर्माण गरिएको छ ।

प्रकृतिपूजक किरात समुदायका लागि निर्माण गरिका मूर्तिहरुभन्दा पनि प्रकृति, भूगोल, पोखरी, बोट बिरुवा, प्राकृतिक सम्पदा र पूर्खाहरुनै प्रमुख आस्था र महत्वका हुन् । भूमण्डलीय तापवृद्धि (ग्लोबल वार्मिङ) का कारण पोखरीको पानीको तह कम हुँदै जानु, वरपरका बोटबिरुवा नष्ट हुँदै जानु गम्भीर चिन्ताको विषय बनेको छ ।









