काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले जेजनी आन्दोनलका नाममा भदौ २४ गते भएको विध्वंसमा संलग्न रहेको भन्दै जिम्मेवार व्यक्तिहरुमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले सदस्य लिली थापाको नेतृत्वमा बनेको छानबिन समितिको प्रतिवेदनका आधारमा बुधबार थप निर्णय गर्दै मानव अधिकार उल्लंघनको घटनामा कारबाही गर्न सरकारलाई भनेको हो ।
आयोगले उत्तेजत अभिव्यक्ति दिएर विध्वंसलाई सहयोग पुर्याएको ठहर गर्दै सरकारले गठन गरेको छानबिन समितिका अध्यक्ष गौरीबहादुर कार्की तथा पूर्वगृमन्त्री ओम प्रकाश आर्यालमाथि अनुसन्धान गर्न सुझाएको छ । आयोगले रास्वपाका सांसदहरुमाथि पनि विध्वंसमा संलग्न रहेको उल्लेख गर्दै अनुसन्धानको दायरामा ल्याउन भनेको छ । आयोगले सिफारिसमा भनेको छ, ‘जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरुको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरु प्रदर्शनमा सहभागिता हुन सक्ने भनी संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको देखिदा भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरुको संलग्नता रहे नरहेको, निजहरुको अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरु आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरुबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लिखित व्यक्तिहरुको स्वच्छ सुनुवाईको हक अधिकारको सुनिश्चतता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न ।’
आयोगले पूर्वप्रधानमन्त्री सुशिला कार्कीमाथि पनि छानबिन गर्न भनेको छ।
थापा नेतृत्वको छानबिन समितिको आधारमा आयोगले रास्वपाका धेरै सांसदलाई विध्वंसमा जिम्मेवार बनाउनुपर्ने उल्लेख गरेको छ। अध्यक्ष गौरी कार्की, आन्दोलनपछिका गृहमन्त्री अर्याल, तत्कालीन हामी नेपालका संस्थाका अध्यक्ष एवं पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानिबनको दायरामा ल्याउन भनेको छ ।
हाल रास्वपाका सांसद रहेका हरि ढकाल, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिश झा, आशिका तामाङ्ग र ज्वाला संग्रौलालाई छानबिन गर्न सुझाव दिएको छ ।
त्यस्तै मानव अधिकार आयोगले रक्षा बम, शोम शर्मा, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवारमाथि पनि अनुसन्धान गर्न भनेको छ ।
त्यस्तै भीम उपाध्याय, रवि किरण हमाल, निश्चल वस्नेत, पशुपति खड्का दुर्गा प्रसाई उर्जा बराल, जेरी ताम्राकार हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनालीलाई पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ । आयोगले आन्दोलन हुँदा प्रधानमन्त्री रहेका केपी ओली, गृहमन्त्री रमेश लेखक र सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङमाथि मानव अधिकार उल्लंघन गरेको अभियोगमा अनुसन्धान गर्न भनेको छ। मानव अधिकार आयोगले प्रहरीका उच्च अधिकारीहरुलाई समेत मृत्यु र विध्वंसका लागि जिम्मेवार ठहर्याएको छ ।









