काठमाडौं : इजरायली सेनाले दक्षिणी लेबनानका ठूला क्षेत्रहरुलाई खाली गर्ने आदेश जारी गरेको छ । सेनाले नयाँ आक्रमणहरू गर्नू अघि यी क्षेत्रहरूलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले त्यहाँका नागरिकहरूलाई जहरानी नदीको उत्तरतर्फ जान सुचित गरेको छ । यो नदी इजरायलको सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको छ । आईडीएफले आफूले अत्यन्तै कडा रूपमा कारबाही गर्ने चेतावनी दिएको छ । जसले हिजबुल्लाहमाथि पटक-पटक युद्धविराम उल्लंघन गरेको आरोप समेत लगाएको छ ।
गत अप्रिल १७ मा लागू भएको युद्धविराम यताकै यो सबैभन्दा ठूलो विस्थापन गर्ने आदेश हो, जसले लेबनानको कुल भूभागको करिब १४ प्रतिशत क्षेत्रलाई प्रभावित पारेको छ । यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो ।
बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ सैनिक र उत्तरी इजरायलका नागरिकहरूमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेको बताएका थिए । त्यसलगत्तै उनले आफ्नो स्थल सैन्य अभियानलाई थप विस्तार गर्ने घोषणा गरेका थिए ।









