काठमाडौँ- जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेश हुने बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सिंगो अर्थमन्त्रालय खटिरहेको छ ।
अर्थमन्त्री वाग्लेले शुक्रबार अपराह्न ४ बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउनेछ । बजेट सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा नै प्रस्तुत हुनेछ । बजेट निर्माणका लागि केही दिनयता अर्थमन्त्री वाग्लेको अधिकांश समय अर्थमन्त्रालयमा नै बित्ने गरेको र अर्थमन्त्रालयमा आगन्तुकहरूको प्रवेशमा कडाइ गरिएको पनि स्रोतले बतायो । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँबराबरको सिलिङ तय गरे पनि आकार केही बढ्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । फरक खालको सबैलाई समेट्ने बजेट बनाउने क्रममा आकार केही बढ्ने भएको स्रोतले बताएको छ ।









