२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइन्छ : ओली

 

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने बताएका छन् ।

अन्तर पार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन लागेकाले सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताएका हुन् । 

ओलीले  वर्तमान अवस्थामा एकता, एकता र अझ उन्नतस्तरको एकता  प्रदर्शन गर्नु आवश्यक रहेको बताए । ‘निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ । यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक छ ।’ ओलीले भनेका छन्,‘पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने छ। पार्टी सदस्यता नवीकरणको प्रक्रियाबाट नै त्यो काम अघि बढाउने छ । ’ 

जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव रहेको दाबी गर्दै उनले पार्टी काममा सक्रियताका साथ जुट्न कार्यकर्तालाई जुट्न अनुरोध गरे । ओलीले भनेका छन्,‘जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव छ । चुनौती जतिसुकै जटिल भए पनि त्यसको पनि सामना गर्न सकिन्छ । इतिहासका विभिन्न कालखण्डमा गम्भीर भन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टी काममा सक्रियताका साथ जुट्न म सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

निर्वाचनमा के कस्तो कमी कमजोरी रहे  ? कस्को के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदन मार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने उनको भनाई छ ।  ओलीले भनेका छन्,‘निश्चय नै निर्वाचनको अस्वभाविक परिणामबाट हामी सबै चिन्तित छौं। पार्टीका सामू उत्पन्न चुनौती र संकटलाई सामना गरेर नै हामीले निर्वाचनका समयमा भन्ने गरेको देश पहिला भन्ने नाराको सार्थकतालाई पुष्टि गर्न सफल हुनेछौं ।’

ओलीले भनेका छन्,‘भदौ २३ र २४ को घटना पछि उत्पन्न असहज परिस्थिति, पार्टीभित्र उत्पन्न अन्तरविरोध समेतका कारणले हामीले समय अगावै एघारौं राष्ट्रिय महाधिवेशन आयोजना गर्‍यौं । प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले हाम्रो पार्टीसमेत निर्वाचनमा जानुपरेको थियो । निर्वाचनको परिणाम हाम्रो पार्टीका पक्षमा रहेन नै । नेपालको प्रमुख लोकतान्त्रिक पार्टीहरुको पक्षमा समेत रहेन । यहाँ कहाँ के कस्तो कमि कमजोरी रहे  ?  कस्को के कस्तो भूमिका रह्यो भन्ने कुरा समयक्रममा उजागर समेत हुँदै जाला। तर पनि यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन। यसको परिणाम पनि स्वभाविक रहेन । यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ ।’

ओलीले लोकप्रियतावादको आवरणमा मुलुकलाई अराजकता, स्वेच्छाचारिता र अधिनायकवादतर्फ लैजाने कोशिस भइरहेको बताए । भदौ २३ र २४ को विध्वंसात्मक घटनापछि मुलुक प्रतिगमनको बाटोमा अग्रसर भएको हाम्रो निष्कर्ष सही रहेछ भन्ने कुरा नवगठित सरकारका काम र क्रियाकलापले पुष्टि गर्दै लगिरहेको उनको भनाई छ । ओलीले कार्यकर्तालाई वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेकोसमेत जानकारी गराए ।

ओलीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा सुझावसहितको प्रतिवेदन तयार गर्नका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन भएको बताए । ‘पार्टीलाई वैचारिक,राजनीतिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउने उद्देश्यका साथ निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा सुझावसहितको प्रतिवेदन तयार गर्नका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन भएको छ।’ ओलीले भनेका छन्,‘संस्थागत हिसाबले नै पार्टी चुनौतीको सामना गर्दै अघि बढ्न सक्षम छ। यस्तो अवस्थामा पार्टीमा एकता आवश्यक पर्दछ । एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ ।’

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।