सर्लाही । सुकुम्बासी हटाउने सरकारी कदमविरुद्ध सर्लाहीका सुकुम्बासी पनि आन्दोलित भएका छन् । शुक्रबार जिल्लाको बागमती नगरपालिका – १२ स्थित पुतली चोकमा भेला भएका उनीहरूले नाराबाजी गर्दै र्याली र कोणसभा गरेका हुन् । बागमती नगरपालिकासहित आसपासका स्थानीय तहबाट ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले ‘उठिवास होइन, व्यवस्थापन गर’, ‘गरिबलाई पनि बाँच्न दे सरकार’ र ‘जग्गा सरकारको भए जनता कसको ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरूले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा आफूहरूलाई वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजेको आरोप लगाएका छन् । वैकल्पिक व्यवस्थाबिनै उठिवास गराउन खोजिएको भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका हुन् । भारी वर्षाका बीच पुतली चोकबाट सुरु भएको र्याली बागमती पुल हुँदै वीर गोर्खाली चोक पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।









