वीरगन्ज : आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका वीरगन्जका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका-७ स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका-१० बजरंग टोलमा बस्दै आएका ४५ वर्षीय रामनारायण दास तत्मा रहेका छन् । प्रहरीका अनुसार यही जेठ १४ गते तत्माले मादक पदार्थ सेवन गरी आफ्नी पत्नी ४२ वर्षीया हलसिया कुमारीमाथि फलामको हतियार प्रहार गरी हत्या गरेका थिए ।
पत्नीको हत्यापछि वीरगन्जबाट फरार रहेका तत्मालाई महोत्तरीको रामगोपालपुर नगरपालिका-७ मा लुकेर बसेको अवस्थामा आइतबार प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
महोत्तरीबाट पक्राउ गरिएका तत्मालाई वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको र उन विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।









