काठमाडौं : प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको राजीनामा माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आवद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नारावाजी गरेका छन् । साथै प्रदर्शनकारीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गर्रौ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताको विरुद्ध भएकाले विरोध गरिएको जानकारी दिए । उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसके पछि अन्य विकसित मुलकहरूमा संसदबाट बाहिर निस्कने बित्तिकै राजीनामा दिनुपर्ने परिस्थिति हुने भए पनि नेपालमा यसलाई सामान्यकरण गर्न खोजिएको भन्दै आपत्ति जनाए । नेता पाण्डेले यस बिषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलें भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारे ।









