चालु आर्थिक वर्ष २०८२–८३ अन्त्य हुन अब करिब एक महिना मात्रै बाँकी छ। आर्थिक वर्ष अन्त्यसँगै कम्पनीहरूको वर्षभरिको नाफा नोक्सानको विवरण सार्वजनिक हुन थाल्छ।
कम्पनीहरूले सार्वजनिक गरेको चैतसम्मको वित्तीय विवरणका आधारमा पनि केही आकलन गर्न सकिने अवस्था बन्छ। यो विवरणमा प्रगति देखिँदै गएका कम्पनीहरू लगानीका लागि छनोटमा राख्न सकिन्छ।
यही क्रममा आज हामीले चैतसम्मको वित्तीय विवरणका आधारमा निर्जीवन बीमा कम्पनीहरूमा उच्च प्रतिसेयर आम्दानी भएका केही कम्पनी प्रस्तुत गरिरहेका छौं ।
यी कम्पनी हुन्, नेको इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स।
नेको इन्स्योरेन्स
नेप्सेको वेबसाइट अनुसार नेको इन्स्योरेन्स २०५२ सालमै सूचीकृत भएको कम्पनी हो । २०७८ जेठमा सेयर मूल्य १७०० रूपैयाँसम्म पुगेकामा हाल ६५२ रूपैयाँमा कारोबार भइरहेको छ।
केही समयअघि ५६२ रूपैयाँको न्यून मूल्यमा कारोबार भइरहेको नेकोको सेयर लामो समयदेखि ७०० रूपैयाँमुनि कारोबार भइरहेको छ।
यसले पाँच वर्षयता वार्षिक औसत १३.८१ प्रतिशत लाभांश दिएको छ। चैतसम्ममा नेको इन्स्योरेन्सको नाफा बीमा शुल्कबाट भएको आम्दानी केही घटेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी दुई अर्ब १६ करोड रूपैयाँ रहेकामा अहिले दुई अर्ब १२ करोड रूपैयाँ भएको छ।
कर्जा र लगानीबाट भइरहेको यसको कमाइ २२ करोडबाट घटेर १४ करोड रूपैयाँ भएको छ।
नेकोको बीमा दाबी बढेको छ। अघिल्लो पटक एक अर्ब पाँच करोड रूपैयाँको दाबी भुक्तानी भएकामा यस पटक एक अर्ब ३३ करोड रूपैयाँ भुक्तानी भएको छ।
यसको नाफा ३६ करोड रूपैयाँबाट घटेर १६ करोड रूपैयाँ भएको छ। यसको प्रतिसेयर आम्दानी २४ रूपैयाँबाट घटेर १७ रूपैयाँ भएको छ। तर यो क्षेत्रमा उच्च प्रतिसेयर आम्दानी हुने कम्पनीमध्येमा यो पनि पर्छ। यसको प्रतिसेयर नेटवर्थ २२३ रूपैयाँ छ।
यसको दाबी लाग्ने अवस्थाका वा दाबी प्रक्रियामा रहेकाको बाँकी खुद भुक्तानी रकम ७९ करोडबाट बढेर ९३ करोड रूपैयाँ पुगेको छ।
बीमा कम्पनीहरूको स्वास्थ्य हेर्ने केही सूचकमा नेको राम्रै अवस्थामा देखिन्छ। यसको सोल्भेन्सी दर ५ प्रतिशत छ। बीमा प्राधिकरणले यस्तो दर १.५ प्रतिशत भए नै राम्रो मान्छ।
नेकोको कुल बीमालेख दुई लाख १९ हजारबाट बढेर दुई लाख २५ हजार पुगेको छ। नवीकरण भइरहेको बीमालेखको संख्या पनि ७४ हजारबाट बढेर ७९ हजार छ।
मुभिङ एभरेजले आहिले यसको सेयर बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ। यसको सेयर बिस्तारै एकुमुलेसन (थुपार्ने काम) भइरहेको देखाउँछ। तर, एकुमुलेसन बलियो भने देखिँदैन।
पछिल्ला तीन दिनमध्ये सोमबार र मंगलबार डार्क क्लाउड बियरिस बनेको छ। मूल्य घट्ने पक्का गर्दै बिहीबार पनि रातो मैनबत्ती बनेको छ। कारोबारका लागि आगामी दिनको प्रवृत्ति याद गर्नु सही हुन्छ।
प्रभु इन्स्योरेन्स
नेप्सेको वेबसाइट अनुसार प्रभु इन्स्योरेन्स २०६४ सालमै सूचीकृत भएको कम्पनी हो। २०७८ मा सेयर मूल्य एक हजार रूपैयाँसम्म पुगेकामा हाल ७०३ रूपैयाँमा कारोबार भइरहेको छ। केही समयअघि ६३० रूपैयाँको न्यून मूल्यमा कारोबार भइरहेको प्रभुको सेयर लामो समयदेखि ७०० मुनि र ६०० रूपैयाँ माथि रहेर कारोबार भइरहेको छ।
यसले पाँच वर्षयता वार्षिक औसत १०.३४ प्रतिशत लाभांश दिएको छ। चैतसम्ममा प्रभु इन्स्योरेन्सको नाफा बीमा शुल्कबाट भएको आम्दानी केही घटेको छ।
अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब १६ करोड रूपैयाँ थियो। अहिले एक अर्ब ६ करोड रूपैयाँ भएको छ।
कर्जा र लगानीबाट भइरहेको यसको कमाइ ९ करोडबाट घटेर ८ करोड रूपैयाँ भएको छ।
प्रभुको बीमा दाबी बढेको छ। अघिल्लो पटक २९ करोडको दाबी भुक्तानी भएकामा यस पटक ३६ करोड रूपैयाँ भएको छ।
यसको नाफा रकम भने २० करोड रूपैयाँबाट बढेर २१ करोड रूपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १५ रूपैयाँ ७० पैसाबाट बढेर १६ रूपैयाँ ५८ पैसा पुगेको छ। यो क्षेत्रमा उच्च प्रतिसेयर आम्दानी हुने कम्पनीमध्येमा यो पनि पर्छ। यसको प्रतिसेयर नेटवर्थ २०९ रूपैयाँ छ।
यसको दाबी लाग्ने अवस्थाका वा दाबी प्रक्रियामा रहेकाको बाँकी खुद भुक्तानी रकम २३ करोडबाट घटेर १४ करोड रूपैयाँ भएको छ।
यसको सोल्भेन्सी दर ५.४८ प्रतिशत छ। प्रभुको कुल बीमालेख ९४ हजारबाट घटेर ८२ हजार भएको छ। यो राम्रो होइन। नवीकरण भइरहेको बीमालेखको संख्या पनि २९ हजारबाट बढेर ३५ हजार छ।
मुभिङ एभरेजले आहिले यसको सेयर बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ।
यसको २० दिनको कारोबारमा यसको सेयर अझै एकुमुलेसन (थुपार्ने काम) नै रहेको देखाउँछ। यो एकुमुलेसन बलियो भने देखिँदैन।
विगत दुई दिनयता भने यसको सेयरमा डिस्ट्रिब्युसन सुरू हुन थालेको देखिन्छ।
पछिल्ला दुई दिनमध्ये मंगलबार रातो र बुधबार हरियो मैनबत्ती बनेको छ। हरियो मैनबत्तीको माथिल्लो धागोले मंगलबारको उच्च विन्दुलाई काटेको छ।
यसको अर्थ मूल्य उच्चले बढ्ने प्रयासमा रह्यो तर सफल भएन।
बजार हरियो रहेरै बन्द भएकाले बढ्ने यो प्रयास फेरि पनि देखिन सक्छ। कारोबारका लागि आगामी दिनको प्रवृत्ति याद गर्नु सही हुन्छ।









