काठमाडौँ : सरकारले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा आवश्यक कदम चाल्ने बताएको छ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताएका हुन् । ‘सुस्तामा नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयले यससम्बन्धी आवश्यक कदम चाल्ने छ ।’आज सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि विवाद भएको थियो। सीमा पार गरेर उनीहरू नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका थिए । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी पसेको विषय शुक्रबार प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पनि उठाएका थिए । यो विषयमा उनले संसद्मा रक्षामन्त्रीसमेत खोजेका थिए।









