दाङ । असार १ – भूम्या पर्व पश्चिम नेपालका १८ मगरातका रोल्पा, रुकुम लगायत दाङ, कपिलबस्तु, बाग्लुङ, पोखरा, काठ्माण्डौ.जस्ता सहर तथा गाउँ, नगरहरुमा भूम्या पर्वको आगमन भएको छ । सबैतिर जहाँ खामभाषी मगरहरुको बसोबास छ ती स्थानहरुमा भूम्याको दमाहा र सनाई बाजा बजिरहेको छ । कहीँ जेठ १ गतेबाट र कहीँ जेठ १५ बाट सुरु गरी बेलुकी अवेरसम्म भूम्याका बाजाहरु बजिरहेको सुनीरहनुभएको छ । धेरैलाई जिज्ञासा छ र प्रश्नहरु छन् – भूम्या के हो र किन नाच्छन् ? असार १ अगावै एक–आधा महिनादेखि राती राती किन नाच्छन् ? असार १ गते नै किन सुरु गर्छन् ? यस विषयमा संक्षिप्तमा केही कुरा राख्न चाहान्छु । अलि विस्तृत रुपमा यही भूम्या पर्व बारे मेरो (सन्तोष बुढा मगरद्वारा लिखित) एउटा सानो पुस्तिका आसार १ गते नै तपाईको हातमा आउँदैछ, त्यसमा हेर्नु होला । यो पुस्तक दाङ्गको घोराहीमा थबाङ्गी समाज सेवा समितिले प्रकाशन गरेर भूम्या पुजाकै दिन घोराहीको भूम्या नाच्ने चौरमै विमोचन गर्दैछ । यहाँ भने म भूम्या के हो, यसलाई पर्वको रुपमा किन मनाइन्छ, असार १ गते नै किन नाचिन्छ र यसको औचित्य र महत्व के छ ? भन्ने विषयमा संक्षिप्तमा चर्चा गर्नेछुु । उपेक्षामा परेको जाति र संस्कृति नेपाल बहुविविधताको देश हो । यहाँ जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, भौगोलिक विविधता छ । नेपालको पछिल्लो तथ्याङ्क २०७८ ले नेपालमा १४२ जातिहरु रहेको देखाएको छ । जति जातिहरु छन् तिनको भाषा, संस्कृति, धर्म, रीतिरिवाज, पोशाक, खानापिना, मनोविज्ञान अलगअलग छन् । तिनको बसोबासका क्षेत्रहरु पनि अलगअलग र निश्चित भू–भाग–क्षेत्रहरुमा रहीबसी आएका छन् र त्यसैलाई उनीहरु आफ्नो मूलथलोको रुपमा आत्मसात गर्दै आएका छन् जस्तै मगरहरुको मगरात, थारुहरुको थारुवान÷थरुहत, किरातीहरुको किरात, लिम्बुहरुको लिम्बुवान, तामाङहरुको तामसालिङ, गुरुङ÷तमुहरुको तमुवान, मधेशीहरुको मधेश, खसहरुको खसान आदि । यस्तै साना समुदायहरुको पनि सानासाना क्षेत्रहरुमा आफ्नो पुख्यौली बसोबासका क्षेत्रहरु छन् । यी सबैको आफ्नो पुख्यौली भूमिप्रति श्रद्धा छ्, सम्मान छ, मातृभूमिको पुजा गर्छन्, पुज्छन् र माया गर्छन् । यससंग उनीहरुको गहिरो मनोविज्ञान जोडिएको छ । त्यसैले जनजाति, मधेशी आन्दोलनहरुको मुख्य माग संघीयता अर्थात आफ्ना पुख्यौली भूमि÷थातथलोहरुको सम्बोधन र मानसम्मानको माग राखेका हुन् तर नेपालका खसआर्य शासक वर्गहरुले यो जनमनोविज्ञानको उपेक्षा मात्र गरेनन्, उनीहरुको आत्मसम्मानको सम्मान होइन बेइमान गरे । उनीहरुको आवाजहरुलाई पुरै कुल्चीदिए । संघीयतको माग गरे तर संघीयता बनाउँदा भूगोल (खोलानाला–खोल्साखोल्सी, हिमाल–पहाड), धार्मिक स्थलहरुका नाममा संघीय प्रदेशहरुको नाम राखेर जनताको आँखामा छारो हाले, खिल्ली उडाए । यसले नेपालमा बहुजातीय विशेषता हुँदाहुँदै एकलजातीय सत्ता कायम गरिएको छ । यो एउटै जातिको राज्य हो । संघीयताको सम्बोधन हिमाल र धार्मिक स्थलको होइन, जनमनोविज्ञानको गरिनु पर्छ । हिमाल, पहाड, नदीनाला र मठमन्दिहरुले संघीयता मागेका होइनन्, संघीयता त यहाँका पछि परेका, राज्यसत्ताबाट उपेक्षित जाति, समुदायहरुले पो आफ्ना भाषा, धर्म–संस्कृति र पुर्खाहरुले यहाँका जंगल–पहाड, तराई–मैदानका बन्जर भूमिहरु फाँडेर हराभरा बनाएको ऐतिहासिक थातथलोहरुको संरक्षण, विकास र संमृद्धि तथा आआफ्ना पहिचानको स्थापना र सम्मानको लागि माग गरेका हुन् । यस्तो देशमा राज्यसत्ताको यो उपेक्षा, एकल राष्ट्रिय नीति र दमन र प्रतिबन्धका बावजुद बचेका संस्कृतिमध्ये पश्चिमा खामभाषी मगर समुदायको निकै सीमित ठाउँहरुमा बचेको एउटा मौलिक संस्कृति हो – भूम्या पर्व । यो कुनै धार्मिक पर्व होइन, यो सांस्कृतिक पर्व हो । आजभोली जनसंख्या बृद्धिसंगै बसाइसराई, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार र उत्पादनमा कम श्रमबाट धेरै लाभ लिन सकिने ठाउँ र सहरीकरणको बढ्दो लहरले एक ठाउँबाट अर्को ठाउँ, गाउँबाट सहर बजार वा सहर बजार नजिक सर्ने क्रम बढ्दो छ । यसले निश्चित ठाउँ र गाउँहरुमा बचेको धर्म, संस्कार, चाडपर्व, रीतिरिवाजहरु पनि बसाइसराईसंगै विस्तार भएको छ र मान्छे जहाँ जहाँ जान्छन् र गइरहेकाछन् ती ठाउँहरुमा आफ्ना संस्कृति संस्कार पनि संगै लिएर गएका छन् । अल्पसंख्यामा परेको हुनाले आफ्नो सुरक्षा, आपसी सहयोग, सहजीवन र सहकार्यका लागि उनीहरु समाज सेवा समिति, सम्पर्क समिति–मञ्च, एकता समाज, मगर संघ जस्ता विभिन्न नामका सामाजिक संस्थाहरु बनाएर त्यस मार्फत आफ्ना रीतिथितिहरुको संरक्षण र संबद्र्धन गरिरहेका छन् । आजभोली विभिन्न सामाजिक संघसंस्थाहरुले र विशेषतः मगर संघले भूमे ्या पर्वलाई देशका विभिन्न स्थानहरुमा आदिवासी मगरहरुको पहिचानको स्थापनाका लागि पहल गरिरहेको देखिन्छ । यो आजको बदलिएको परिवेशमा सामाजिक आवश्यकता र मगर मनोविज्ञानको सम्मान र सम्बोधन पनि हो । भूम्ेया के हो ? , आजभोली सबैले असार १ गते नाचगान गरेर रमाइलो गरी मनाइने खामभाषी मगरहरुको एउटा सांस्कृतिक उत्सवलाई “भूमे पर्व” भनेको सुन्नु भएको हुनुपर्छ । भूमे शब्दभित्र धेरै अर्थ र रहस्य लुकेका छन् । शाब्दिक रुपले “भूम्या” शब्दको प्रारंभिक श्रोत नेपाली भाषाको “भूमि” हो । भूमिबाट मगर लवज र उच्चारण हुँदै आउँदा यसको स्वर–ध्वनीश्रुति मगर जिब्रोमा “भूम्या” बन्न आएको छ । यो भनेको हिज्जेमा न भूमि, न भूमे, न भूम्या हो ।
यी तीन हिज्जेबाट निस्कने ध्वनीहरुको बीचबाट “भूम्या” स्वर नयाँ मिश्रित ध्वनीश्रुतिमा आएको छ । त्यसैले यो ध्वनीश्रुतिलाई यी तीन हिज्जेका ध्वनीले प्रतिनिधित्व गर्न नसक्ने र आपसमा तानातान भएकोले यसको असली ध्वनीको प्रतिनिधत्व गर्न यसलाई लिखतमा “भूम्ेया” उल्लेख गरेको छु । मगरहरुको एउटा चाखलाग्दो संस्कृति भूम्ेया १८ मगरातका मगरहरुको एउटा सांस्कृतिक पहिचान हो । यो सबैतिर पशुबलि दिएर भूमिको पुजा गर्ने चलनबाट सुरु हुन्छ । कतै बोका, कतै भेडासाँडा, कतै सुँगुर, कतै कुखुरा त कतै बन्यजन्तु समातेर ल्याई भूमि (शक्ति) देवताको नाममा बलि दिने चलनलाई भूम्ेया पुजा भनेर पुकार्ने गरिन्छ । त्यो पुजा प्रायजसो सबै ठाउँहरुमा असारको १ गते गर्ने गरिन्छ तर केही सीमित गाउँहरु जस्तै उवा र घुसबाङमा भूमे ्या पुजा असार १ गते गरे पनि नाच चाहीँ साउन १ गते राँके तिहारमा नाच्ने परंपरा छ । फगाम र जैमाकसलातिर भने असारे औंसीमा भूमि पुजा गर्ने गरिन्छ । यी बाहेक सबै ठाउँहरुमा असार १ लाई नै चाडको रुपमा मनाउँदै आएको देखिन्छ । यसरी असार १ मा भूमिको पुजा गरिसकेपछि कार्यसिद्धि भएको खुशीयालीमा ३ देखि ५ दिनसम्म मनाइने यो पर्वको नाम नै “भूम्ेया पर्व” नामले स्थापित छ तर खाम भषामा भने यसलाई नाःम्क भनिन्छ । यो नै यसको असली र ठेट नाम हो । भूमे ्या नाम खस नोपाली भाषाको आगमनसंगै आएको र बन्न पुगेको नयाँ पदावली हो जो आजभोली नाःम्कको सट्टामा प्रयोग गरिन्छ । यसरी प्रत्येक बर्ष परंपरागत रुपले एउटा सांस्कृतिक उत्सवको रुपमा असार १ बाट ३ देखि ५ दिनसम्म नाचगान गरेर खुशीयाली मनाइने एक साँस्कृतिक चाडको नाम नै भूम्या पर्व हो । असार १ गते नै किन ? मगर पुर्खाहरु अति चिसो हुने हिमाली क्षेत्रमा पनि बसेनन् र अति गर्मी हुने तराई क्षेत्रमा पनि बसेनन् । मगर पुर्खाहरुले उच्च महाभारत र तल्लो महाभारत पर्वत श्रृङ्खलालाई आफ्ना मौसमी बसोबासको रुपमा रोजे । कृषि र पशुपालन पेशासंगै गर्मीमा अलिमाथि चड्ने र जाडोमा अलि तल काँटा क्षेत्रसम्म झर्ने उनीहरुको उत्पादन सम्बन्धसंगै यो संस्कृतिको विकास भयो । यो क्षेत्रमा बर्षेनी असारको आधाआधीबाट बर्षात सुरु हुने हुनाले त्यसभन्दा अगाडि नै पशुधन, अन्नधन र ज्युज्यानको सुरक्षाका लागि प्रकृति अर्थात भूमिसंग माफी माग्न बर्षात संघारमै आउने असार १ गतेलाई सवभन्दा उपयुक्त तिथि ठाने र यो दिनमा सबैतिर प्रकृति याने भूमिको पुजा गर्ने संस्कार बसाले । पुजा गरेपछि उनीहरुको आत्मबल बढ्ने र एक बर्षलाई अव ज्यु–धन, पशुधन, अन्नबाली, उत्पादनका साधन भूमि कमाउने जग्गाहरु)को रक्षा भएको ठाने । आफूहरु सुरक्षित भएको ठानेपछि उनीहरु खुशियाली छायो र यो खुशीयालीमा नाचगान सुरु गरे । दोस्रो यस क्षेत्रमा हिँउदे बाली सबै भिœयाइसकेको र बर्षे बाली पनि लगाई लहलह भई हरियाली बनेको अति सुन्दर र मनमोहक वाताबरण, समयको हिसावले अलि फुर्सदिलो, हावपानीको हिसावले न चिसो न गर्मी, ऋतुको हिसावले ग्रीष्म ऋतु सकेर बर्षा ऋतु सुरु हुँदै गर्दाको समय, सबै हिसावले असार १ सवभन्दा उपयुक्त भएकोले यसै दिनमा भूम्ेया पुजा गरेर नाचगान सुरु गर्ने परिपाती चलाएको बुझिन्छ । थबाङ र लुकुमतिर यो पर्वमा नाचिने नाचलाई नोकोबाङ्गे नाच भनिन्छ । किन पर्व कै रुपमा मनाए ? पर्व भनेको बर्षभरिमा गरिने संस्कार, संस्कृतिको सवभन्दा उत्कृष्ट दिनको छनौट गरेर सामुहिक रुपमा मनाइने उत्सव हो । संभवतः हाम्रा मगर पुर्खाहरुले नामाकरण नै नगरे पनि यो असार १ गते नयाँ बर्षको सुरुवात हो । आजभोली हराउँदै गए पनि हिजो रोल्पा, रुकुमका मगर बाहुल्य क्षेत्रहरु जहाँ मगर र दलित बाहेक अरु समुदायको उपस्थिति नै थिएन र अझै पनि ती ठाउँहरुमा बाहुन चलाउँदैनन् । बाहुन के चराको नाम हो, थाहा छैन । मर्दापर्दा, बिहेवारी गर्दा, जन्मदा, शिक्षादीक्षा दिंदा गरिने कर्महरु सबै मगर जैसीले गर्थे । दिनबार हेर्ने जैसी, पुजापाठ गर्ने पुजारा, विरामी हुँदा झारफुक गर्ने झाँक्री सबै मगरै हुन्थे । यी सबै संस्कारहरु एक बर्षको रुटीनमा हुन्थे । असार १ मा भूमेृया (नाःम्क), साउन १ देखि ३ दिन तिवार (राँके तिवार), भदौ मसान्त घ्युँवा संक्रान्ति, १२ भदौ (घरको मूल पुरुषको पुरुष पुर्षो बोलाउने पर्व, आजभोली यो हराएको छ), दशैं र तिहारलाई मगर शैली र अवस्थामा प्रयोग गरेर मनाइने गरिन्छ । माघे संक्रान्ति (चेलीबेटी पुज्ने पर्व) यी यस क्षेत्रका मगरहरुको बार्षिक रुटीनमा मनाइने पर्वहरु हुन् । यी मध्ये सवैभन्दा उत्कृष्ट मौसम, सबैको अनुकुलको पर्व, भूमि देवतालाई खुशी पारेर साना केटाकेटीदेखि हिड्न सक्ने बूढाबूढीसम्मले एउटै दमाहाको तालमा एउटै लाममा महिला पुरुष भएर नाचिने भएकोले यसलाई हरेक बर्ष मनाइदै आउने क्रममा आपसेआफ पर्वको रुप धारण ग¥यो । यो कसैले (जस्तै धार्मिक पर्वहरु) बनाएर बनेको पर्व होइन । त्यसैले यसलाई साँस्कृतिक पर्व भनेको हो र यो हरेक बर्ष असार १ मा सुरु गरी पर्वको रुपमा मनाइदै आएको हो । असार १ अगाडि किन रातीराती नाच्छन् ? पर्व यसको उत्कर्ष हो । यसलाई राम्रो, रमाइलो, व्यवस्थित बनाउन र यसक्रममा आउने बाधा व्यवधान, सुरक्षाका लागि पनि कसै न कसैले जिम्मा लिनु पर्ने हुन्छ । यसको लागि समाजले एउटा नियम र नीतिगत व्यवस्था गर्नै पर्छ । ताकि त्यो पर्वमा कुनै उत्श्रँृङल गतिविधिहरु नहोउन । यसलाई व्यवस्थित गर्न निश्चित केही व्यवस्थापकहरुको जिम्मा हुन्छ । उनीहरुले नाचलाई व्यवस्थि तगर्न र अराजक, भद्रगोल हुन नदिन एक आधा महिनादेखि नै फुकाएर सिकाउने प्रक्रियाको थालनी गरिन्छ । पहिलेपहिले त यसमा निकै रितभाँत पु¥याउनु पथ्र्यो । आजभोली त सजिलो भएको छ । आजभोली कतै आयोजक समितिले, कतै मगर संघले, कतै सेवा समिति र सम्पर्क मञ्च र समाजहरुले त कतै नेपाल मगर संघले यसको आयोजना, व्यवस्थापन, सञ्चालन र परिचालन गर्दछ । यसको लागि नाच उद्घाटन अर्थात भूम्ेया पुजा सुरु हुने दिन असार १ भन्दा आधामहिना एकमहिना अगाडिदेखि यो नाचको रिहल्सल (तालिम) सुरु हुन्छ । यसको लागि नै रातिराति नाच सिक्ने सिकाउने गरिन्छ । औचित्य र महत्व भूमे पर्व १८ पन्थी मगरहरुको एक साँस्कृतिक पहिचान हो । यो मगरातका सबै क्षेत्रमा नाचिदैन किन कि मगरातका ठूलो क्षेत्रहरु हिजो बाइसे–चौविसे राज्यहरुको कब्जामा प¥यो । जहाँ ती भुरे–टाकुरे राजाहरु बसे र शासन गरे ती ठाउँहरुमा मगरहरुको भाषा, संस्कार संस्कृतिहरु पुरै नासी सकेको छ । जहाँ तिनको पहँुच पुगेन ती अनकन्टार ठाउँहरुमा बचेको संस्कृतिको अवशेष हो, भूम्ेया पर्व । यो यसक्षेत्रमा बसोवास गर्ने मगरहरुको सामुहिक सांस्कृतिक पहिचान हो । यो केवल पहिचान मात्र नभएर यो सांंस्कृतिक एकताको पर्व पनि हो । आजभोली मूल थलो छाडेर विभिन्न ठाउँहरुमा बसोबास गरेका बस्ती र ठाउँहरुमा मगरहरु अल्पसंख्यक भएर बसेका छन् । तिनको समाजिक, साँस्कृतिक, जातीय एकताको प्रतीक पनि हो, यो पर्व । यसले ती छरिएर बसेका मगरहरुलाई कम्तीमा बर्षमा एक पटक एक ठाउँमा ल्याउँछ । आपसमा चिनजान गराउँछ । सामुहिक भावना, सहकार्य र आपसी सहयोगको वातावरण सिर्जना गर्दछ र आपसी लेनादेनामा सहजता पैदा गर्दछ । सहजीवनमा जीउन सिकाउँछ, मिलेर समुदायमाथिको थिचोमिचोका विरुद्ध सामुहिक संघर्ष गर्न सिकाउँछ । मर्दापर्दा, विहेबारी गर्दा मानिसका अनिवार्य जीवनकर्महरुमा आपसी सहयोगमा मदत गर्दछ । भाषा र संस्कृतिको संरक्षण गर्दछ र मिलेर बाँच्न सिकाउँछ लगायतका विषयहरुमा भूम्ेया पर्वको औचित्य र आवश्यकता अझै बढेर गएको छ । जवसम्म नेपाल विविधताको देशको रुपमा रहिरहन्छ तवसम्म यसको आवश्यकता अझ बढेर जाने छ । अन्तमा भूम्ेया पर्व २०८३ को सुखद अवसरमा सम्पूर्ण मगर दाजुभाई दिदीबहिनीहरु, आमाबुवा तथा भावी पुस्ताका उदाउँदो भाईबहिनीहरु सबैलाई सुस्वास्थ्य, दीर्घायू, प्रगति, सफलता र आपसी भातृत्वका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दिवंगत मगर अग्रजहरुप्रति सम्मान व्यक्त गर्दछु । धन्यवाद । जेदो ।

सन्तोष बुढा मगर
रोल्पा, थबाङ २०८३ असार १ गते












