काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालबाट अब पार्टी नचल्ने प्रतिक्रिया दिएका छन् ।
संयोजक प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका हुन् । उनले नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाएका छन् । खनालले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने ठहर गरेका छन् ।
उनले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाएका छन् ।
माधव नेपालतर्फ संकेत गर्दै खनालले पार्टीका ‘सह-संयोजक माथि १९ करोडको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा उच्च पद दिनु अनैतिक भएको टिप्पणी गरेका छन् ।
‘भ्रष्टाचारको मुद्दा खेपिरहेको व्यक्तिलाई पार्टीको सह-संयोजक बनाउनु कुन नैतिकताले दिन्छ ?’ उनले प्रश्न सोधेका छन् ।









