काठमाडौं : विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरेको थियो । विशेष अदालतले प्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारका लागि उचित व्यवस्था गर्न पनि सम्बन्धित कारागार कार्यालयलाई आदेश दिएको छ ।
त्यस्तै आरोपपत्रसाथ पेश गरिएको गाडी नम्बर ०१-०३३ च १ को गाडी प्रचलित कानुन बमोजिम व्यवस्थापनका लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिइएको छ ।









