काठमाडौं / नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नयाँ नोट बजारमा प्रवेशसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्रचलन सुरु भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना तथा पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको छ । हाल जारी गरिएको नोटहरूको संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म रहेको छ ।
नेपाली नोट प्रणालीअनुसार प्रत्येक अक्षर समूहअन्तर्गत ०००००१ देखि ९९९९९९ सम्म करिब १० लाख थान नोट छापिने व्यवस्था रहेकाले नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा प्रवेश गरेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको प्रचलनसँगै २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा रहेको २०२० सिरिजको ५०० रुपैयाँ दरका करिब २ लाख ४८ हजार थान नोटलाई क्रमशः प्रतिस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ ।
सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र समावेश गरिएको छ, जसको रंग प्रकाशको कोणअनुसार परिवर्तन हुने विशेषता छ । सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने यो सुरक्षा प्रविधिले नकली नोट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।












