काठमाण्डौ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् । नतिजा प्रकाशन तथा उत्तरपुस्तिका मूल्यांकन प्रक्रियामा त्रुटि भएको, प्राप्ताङ्क वास्तविक प्रदर्शन अनुसार नआएको तथा पुनर्मूल्यांकन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले पारदर्शी र विश्वसनीय मूल्यांकन प्रणाली लागू गर्न, उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गर्न तथा नतिजा सम्बन्धी गुनासो सुनुवाइका लागि प्रभावकारी संयन्त्र निर्माण गर्न माग गरेका छन् ।
उनीहरूले हालको प्रणालीले विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन् । माइतीघर मण्डलमा भेला भएका विद्यार्थीहरूले प्लाकार्डसहित नाराबाजी गर्दै राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएका थिए । विद्यार्थीहरूले भने आफ्ना माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।












