काठमाडौँ । तत्कालीन सभापति शेरबहादुर देउवा र उनी नेतृत्वको केन्द्रीय समितिको असहमतिका बिच गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि चर्किएको कांग्रेसभित्रको विवाद अझै साम्य भएको छैन ।
तथापि काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले विवाद समाधानका लागि वार्ता र संवाद गर्न नयाँ–नयाँ नेतालाई जिम्मेवारी दिएर प्रयास भने जारी राखेका छन् ।
पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न वार्ताको प्रयास गरिरहेका सभापति थापाले विवाद मिलाउने जिम्मा उपसभापति शर्मालाई तोकेरै दिएका छन् । त्यो बाहेक महामन्त्री प्रदीप पौडेललाई सहमतिका विभिन्न प्रस्ताव लगेर इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूह)का नेताहरूसँग पठाउने गरेका थिए । शुक्रबार त्यो भन्दा पनि फरक रणनीति सभापति थापाले अपनाएका छन् । उनले अर्का महामन्त्री गुरुराज घिमिरेलाई शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा नेता डा. शेखर कोइरालालाई भेट्न पठाएका छन् । महामन्त्री घिमिरे आफैले नेता डा. कोइरालासँग भेट भएको र पार्टीको आन्तरिक राजनीतिबारे कुराकानी भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा.शेखर कोइरालासँग भेटघाट र छलफल,’ फेसबुकमा डा. कोइरालासँगको तस्बिरसहित महामन्त्री घिमिरेले लेखेका छन् । कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसविरुद्ध देउवा र डा. शेखर समूह सर्वोच्च अदालतमा रिट लिएर पुगे । तर, सर्वोच्चले पनि गत वैशाख ४ गते विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई नै आधिकारिकता दियो । त्यसपछिबाट शुक्रबारसम्म भएका भेटमा संस्थापनबाट ४ नेता खटिए पनि उपलब्धि भने अहिलेसम्म शून्य छ ।
सर्वोच्चबाट आफ्नो पक्षमा फैसला आएपछि थापाले वैशाख ६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए ।












