काठमाडौं,असौज २ : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक यात्रामा एउटा रोचक विरोधाभास देखिएको छ। सिंगापुरबाट फर्किँदा विमानको समयसमेत परिवर्तन गराएर विमानस्थलमा स्वागत गर्ने नेताहरू धमाधम देउवाको साथ छाडेर पार्टी सभापति गगन थापा नेतृत्वको संरचनातर्फ लागेका छन् ।
देउवा उपचारका लागि सिंगापुरमा रहेका बेला सुरुमा २६ साउन राति ९ः४५ बजे काठमाडौं फर्किने कार्यक्रम थियो। तर, केही नेता–कार्यकर्ताले विमानस्थलमा स्वागत गर्न ठूलो संख्यामा उपस्थित हुन पाउनुपर्ने आग्रह गरेपछि उनको उडान २८ साउन दिउँसो १२ः२५ बजे सारिएको थियो। तत्कालीन कांग्रेस नेता प्रकाशशरण महतले यसको पुष्टि गर्दै भनेका थिए, ‘सबैले दिउँसो आउनुपर्छ भनेपछि संशोधन भयो ।’
२८ गते देउवा काठमाडौं ओर्लिँदा विमानस्थलमा उनलाई स्वागत गर्ने नेतामध्ये अग्रभागमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशशरण महत, कान्छाराम तामाङ, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेतलगायत थिए ।

‘म हिन्दु हुँ’ ले थपियो नयाँ विवाद
साउन ३१ गते सुकेधारामा आफ्नो पक्षको राष्ट्रिय भेलाको समापनमा देउवाले तीनपटक दोहो र्याए, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ।’ त्यसै भेलाले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गर्यो। प्रस्तावमा हिन्दु, बौद्ध, किरात तथा प्रकृति धर्मको संरक्षण र धार्मिक स्वतन्त्रताको कुरा पनि समेटिएको थियो ।
देउवाको उक्त अडानप्रति राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरूको हात भएको स्पष्ट आभास हुने देउवानिकटकै एक नेता बताउँछन् । ‘त्यसले नकारात्मक प्रभाव के पर्यो भने सिंगापुरबाटै सबै तारतम्य मिलाएर ल्याउने र यहाँ पनि हिन्दुका विषयमा बोल्न लगाउने कुनै शक्ति पक्कै छ भन्ने उहाँनजिकैका साथीहरूले बुझे र छोड्दै गए,’ ती नेताले भने। तर, यही विषयले देउवा समूहभित्र ठूलै विवाद सिर्जना गर्यो। कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र मीनबहादुर विश्वकर्माले प्रस्तावको विरोध गरे। धर्मसम्बन्धी विषयमा सहमति नहुँदा सम्मेलनको अन्तिम दस्तावेज र पत्रकार सम्मेलनसमेत प्रभावित भयो।
नेता विश्वकर्माले त्यतिबेलै भनेका थिए, ‘धर्मको विषयमा सहमति हुन सकेन । सहमति नभएपछि अन्तिम दस्तावेज सार्वजनिक गर्ने पत्रकार सम्मेलन स्थगित गर्नुपर्यो।’ यसरी देउवाको व्यक्तिगत धार्मिक आस्था र त्यसलाई राजनीतिक प्रस्तावमा रूपान्तरण गर्ने प्रयासले आफ्नै समूहभित्र वैचारिक असहमति सतहमा ल्यायो।
स्वागत गर्ने नेतामध्येका एक मुख्यपात्र विश्वकर्मा अहिले देउवा समूहबाट बाहिरिएका छन्। उनी बिहीबार पार्टी कार्यालय सानेपा पुगे। उनीसहितका नेताहरूले पार्टी विभाजन रोक्न सार्वजनिक रूपमा दबाब दिएका छन्। ‘शेरबहादुर दाइ प्रमुख अतिथि भई महाधिवेशन उद्घाटन गरेर तथा शेखर र पूर्ण दाइ वरिष्ठ नेताका रूपमा बसेर पार्टीमा एकता कायम गर्न सकिने विकल्प बाँकी नै छ। त्यसका लागि संवाद टुटाउनु हुन्न,’ विश्वकर्माले भने, ‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ, हामी सर्वोच्च नेता बनाउँछौं। देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ।’
यसैबीच गगन नेतृत्वले देउवा नेतृत्वको पुरानो केन्द्रीय कार्यसमितिका सदस्यलाई समायोजन गर्ने निर्णय गरेपछि ५१ जनाको ठूलो समूह देउवाको साथ छाडेर महाधिवेशन प्रक्रियामा सहभागी हुने बाटोमा लाग्यो।












