काठमाण्डौै,असौज २ : नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछ । नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख छ।
नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। पानी छापको मुनी ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ। नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
त्यस्तै, १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘NRB’ लेखिएको छ। नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ।












