विराटनगर: मोरङ प्रहरीले पटक-पटक विवादमा आइरहने आपराधिक पृष्ठभूमिका अभिषेक गिरीको विराटनगरस्थित घरमा शनिबार बिहान छापा मारेको छ। गुण्डा नाइकेका रूपमा परिचित गिरीको घरमा प्रहरीले झिसमिसे बिहानै छापा मारेको हो ।
मोरङ प्रहरी स्रोतका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको आशंकामा सर्च अपरेसन चलाइएको छ। शनिबार बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरिरहेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले शंकास्पद वस्तु लुकाएको आशंकामा खोजी भइरहेको जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । अभिषेक गिरी यसअघि पनि पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा कैद सजाय भुक्तानका लागि कारागारभित्र रहँदासमेत उनी विभिन्न विवादमा तानिएका थिए ।
कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। मोरङ कारागारको चौकीदार हुँदा कैदीबन्दीलाई यातना दिएर रकम असुली गरेको आरोप गिरीमाथि लागेको थियो । कारागारबाट छुटेपछि उनले मिटरब्याजको धन्दा चलाउने गरेको आरोपसमेत लाग्दै आएको छ ।
विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो ।












