तेहरान । इरानले शनिबार अमेरिकी सेनासँग जोडिएका विभिन्न लक्ष्यहरूमा जवाफी हमला गरेको छ । आफ्नो दक्षिणी तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा यो कदम चालेको इरानले जनाएको हो । चार महिना लामो युद्ध अन्त्य गर्नका लागि गत साता मात्रै भएको सम्झौता उल्लङ्घन गरेको भन्दै दुवै देशले एकअर्कामाथि आरोपप्रत्यारोप गरिरहेका छन् । इरानको परराष्ट्र मन्त्रालयले आफ्नो यस ‘प्रतिरक्षात्मक’ आक्रमणको यकिन स्थानबारे भने केही खुलाएको छैन । इरानले आफ्ना तटीय निगरानी केन्द्रहरूमा अमेरिकाले गरेको ‘बर्बर हवाई आक्रमण’ को जवाफ मात्रै दिएको भन्दै अमेरिकी कदम संयुक्त राष्ट्रसंघको बडापत्र विपरीत रहेको दाबी गरेको छ । यसैबिच, अमेरिकी नौसेनाको पाँचौँ फ्लीट तैनाथ रहेको बहराइनले आफ्नो भूमिमा इरानी ड्रोन आक्रमण भएको भन्दै त्यसको कडा निन्दा गरेको छ । बहराइनले यसलाई आफ्नो सार्वभौमसत्ताको घोर उल्लङ्घन र सुरक्षामाथिको खतरा भन्दै आत्मरक्षाको अधिकार आफूसँग सुरक्षित रहेको बताएको छ। इरानले अमेरिकी लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरे पनि वासिङ्टनले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले इरानको नौसैनिक निर्देशन उल्लङ्घन गर्ने जोकोहीलाई पनि कडा जवाफ दिइने बताएका छन्। अमेरिकी सेन्ट्रल कमान्डले भने इरानको व्यवहारलाई ‘व्यापारिक जहाजहरू विरुद्धको अनावश्यक उत्तेजना’ भन्दै जलमार्गमा सुरक्षित आवागमनका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकीहरूले युद्धविराम सम्झौताको पूर्ण पालना गरेको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको हो र हामीले त्यसको सम्मान गरेका छौँ। यदि उनीहरूलाई समझदारीको पालनाबारे कुनै असहमति भए फोन उठाएर कुरा गर्न सक्छन्, तर हिंसाको जवाफ हिंसाबाटै दिइनेछ।’
यो नयाँ तनाव सुरु हुनुअघि तेल बोक्ने ट्याङ्करहरू स्ट्रेट अफ होर्मुजबाट बाहिरिएका कारण शुक्रबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ३ प्रतिशतले घटेको थियो। करिब चार महिनाको अवरोधपछि साउदी अरामकोले विश्वकै सबैभन्दा ठुलो तेल बन्दरगाह रास तनुरामा कच्चा तेलको लोड सुरु गरेको छ भने मल ढुवानीमा पनि तीव्रता आएको छ, जसले विश्वव्यापी खाद्य सामग्रीको मूल्य बढ्ने चिन्तालाई केही कम गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खाडी मुलुकहरूको भ्रमणका क्रममा खाडी सहयोग परिषद् (जीसीसी) सँग संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि शुल्क वा नियन्त्रणको प्रयास बिना स्ट्रेट अफ होर्मुजमा ‘स्वतन्त्र र विनासर्त जहाज आवागमन’ हुनुपर्ने माग गरेका छन्।
तर, इरानको परराष्ट्र मन्त्रालयले भने यस जलमार्गको व्यवस्थापन इरान र ओमानले मात्रै गर्नुपर्ने अडान राखेको छ। इरानका सर्वोच्च नेताका शीर्ष सल्लाहकार अली अकबर वेलायतीले वासिङ्टनका खाडी सहयोगीहरूलाई उनीहरूको अस्तित्व तेहरानको सहनशीलतामा निर्भर रहेको भन्दै धम्कीपूर्ण चेतावनी दिएका छन्।












