काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसी नेता तथा सांसदहरू पछिल्लो समय निकै असन्तुष्ट देखिएका छन् । पछिल्लो समय प्रतिनिधि सभाको बैठकमा सोही पार्टीका सांसद पुरुषोत्तम यादवले दिएको अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ ।
आखिर मधेसमा एकपछि अर्को नेता किन असन्तुष्ट बन्दै गएका छन् ?
सरकारले अहिले धमाधम नियुक्ति गरिरहेको छ तर मधेससँग सोधपुछ पनि छैन । मधेस प्रदेशका रास्वपाका एक सांसदले भने, ‘सरकारले अहिले विभिन्न निकायमा नियुक्तिहरू गरिरहेको छ तर मधेसका हामीजस्ता नेताहरूसँग एकपटक पनि कुनै विषयमा सल्लाह लिँदैनन् । सोध्न जाँदा प्रतिक्रिया पनि दिँदैनन् ।’
केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन गर्न बाँकी रहेकाले त्यसमा पार्टीले के निर्णय गर्छ, त्यो हेरेर मात्र कुनै निर्णय लिने ती सांसदले बताए ।
चुनावका समयमा रवि र बालेनले मधेसी नेताहरूसँग छलफल गर्थे तर अहिले कुनै प्रकारको सोधखोज छैन । चितवनमा भएको महाधिवेशनमा रवि र बालेनले जसजसलाई टोलीमा ल्याउन खोजे, उनीहरू मात्र आए, अरूको कुनै सोधखोज भएन ।
रास्वपामा शीर्ष नेतृत्वमध्ये एक नेता थिए मनिष झा, तर उनलाई महाधिवेशनबाट फालियो ।
साहित्यकार धिरेन्द्र प्रेमर्षीले भने, ‘लोकतन्त्रमा जित र हार दुवै स्वाभाविक प्रक्रिया हुन् । चुनाव लड्नेहरूमा जित्ने विश्वास जति चाहिन्छ, हारलाई सहजै पचाएर पुनः ऊर्जा ग्रहण गर्ने सामथ्र्य पनि त्यति नै आवश्यक हुन्छ, र त्यो कुरा मनिष झामा देखिएको छ ।’ मनिष झा हारेर पनि जितेको उल्लेख गर्दै उनले महाधिवेशनमा पराजित भएर पनि मनिष झाको अन्य नेताको तुलनामा बढी चर्चा हुनु नै उनको जित भएको बताए ।
चुनाव जितेपछि झा मन्त्री बन्ने लगभग निश्चित थियो । उनले आफैँ चुनावी अभियानका क्रममा ठाउँठाउँमा मन्त्री बन्ने कुरा बताएका थिए । तर उनलाई मन्त्री बनाइएन ।
उनी मात्र होइन, जेनजी आन्दोलनमा योगदान दिएका मधेस प्रदेशका शिव यादव, पुरुषोत्तम यादव र बब्लु गुप्तामध्ये कसैलाई पनि मन्त्री बनाइएन । चुनावका समयमा टिकट लिएर चुनाव जितेकाहरूलाई मन्त्री बनाइएको छ । सिरहा–४ बाट चुनाव जितेका तपेश्वर यादव रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय थिए तर उनलाई पनि मन्त्री बनाइएन ।
मधेस प्रदेशका एक नेताले भने, ‘यी सबै हेर्दा पार्टी कसले चलाइरहेको छ भन्ने पत्तो छैन । हरेक पार्टी कुनै न कुनै प्रणालीबाट चलेको हुन्छ, नीति, नियम र विधानका आधारमा चलेको हुन्छ, तर रास्वपाको आफ्नै ताल छ । एक–दुई जना नेताले जे भन्छन्, त्यही हुन्छ ।’
तर मधेसमा संगठन पनि बनेको छैन, नेताहरू पनि असन्तुष्ट छन् । यसको अर्थ पार्टीको प्राथमिकतामा मधेस छैन । प्राध्यापक झाले भने, ‘विगतका दलहरूले गरेको भ्रष्टाचार तथा कुशासनप्रतिको आक्रोशको फाइदा रास्वपालाई भएको हो । तर जसले रास्वपालाई मत दियो, आज उसैले पश्चाताप गरिरहेको छ । खासगरी मधेसमा यसको आलोचना भइरहेको छ ।’












