काठमाडौँ । प्रहरीले पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले लालबिहानीलाई बताए ।
४६ वर्षीय चौधरीले विदेश पठाउँछु भनेर ठगेको आरोप छ । उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएको थियो ।

उनले क्यानडा पठाइदिने प्रलोभन देखाई २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ । हाल चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय चौधरी पीडितहरूबाट रकम असुली गरी सम्पर्कविहीन भएपछि उजुरी परेको थियो । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आरोपीलाई थपअनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइने एसपी थापाले जानकारी दिए ।












