काठमाडौं : इरानको हर्मुज जलडमरूमध्यमा दुईवटा तेल ट्याङ्करमा भीषण आगलागी भएको छ । इरानको सरकारी समाचार एजेन्सीले इस्लामी क्रान्तिकारी गार्ड कर्प्सलाई उद्धृत गर्दै शनिबार दिएको जानकारी अनुसार बारुदी सुरुङ (माइन) विछ्याइएको मार्गबाट अघि बढ्न खोज्दा ती ट्याङ्करहरूमा आगो लागेको हो ।
उक्त घटना लगतै गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै सो रणनीतिक जलमार्ग हाल अत्यधिक असुरक्षित भएको र यसलाई पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ । विश्वकै प्रमुख तेल ढुवानी मार्ग मानिने हर्मुज बन्द भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षा चासो थप बढेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार इरानद्वारा गरिएको यस दाबीको हालसम्म स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यस घटनाको आधिकारिक जानकारी, वस्तुस्थिति र थप विवरणका लागि अमेरिकी सेन्ट्रल कमाण्डसँग सम्पर्क भइरहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।












