कोशी प्रदेश : नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गराउने, घुमुवा परिचालन गरेर अवैध असुली गर्नेदेखि विभागीय अनुशासन उल्लंघन गरेको आरोपमा कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका एसपीदेखि जवानसम्म मुख्यालय तानिएका छन् । उनीहरुमाथि सशस्त्र प्रहरी बलको मुख्यालयले आन्तरिक छानबिन गरिरहेको छ ।
सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले झापा, सुनसरी र इलाममा कार्यरत अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर काठमाडौं बोलाएको हो । उनीहरूमाथि सीमा क्षेत्रमा लागुऔषध तथा अन्य मालवस्तुको तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै घुमुवामार्फत रकम असुलेको आरोप लागेको छ । अनुसन्धानमा पर्ने अधिकृतहरूमा सशस्त्र प्रहरी बल झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशी, सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्की, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका डीएसपी शम्शेर कार्की, इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती तथा सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन् ।
मुख्यालयका अनुसार सशस्त्रका जवानदेखि एसपीसम्म छानबिन एवं अनुसन्धानको दायरामा परेका हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी नेत्रबहादुर कार्कीले गम्भीर प्रकृतिका आरोप र प्राप्त गुनासाका आधारमा केही जिल्ला तथा युनिटका इन्चार्जलाई मुख्यालय तानेर आन्तरिक छानबिन तथा अनुसन्धान अघि बढाइएको पुष्टि गरे । उनका अनुसार अनुशासन उल्लंघन गर्ने, विभागीय नीति–नियम नमानी बदमासी गर्ने वा त्यस्तो आरोप लागेका कर्मचारीमाथि अनुसन्धान चलिरहेको छ । इन्चार्ज मात्र नभई अन्य पदका कर्मचारी पनि अनुसन्धानको दायरामा रहेको उनले बताए । विभिन्न सूचना, गुनासा तथा आन्तरिक अनुगमनका आधारमा जिम्मेवारीबाट हटाएर छानबिन गर्ने प्रक्रिया नियमित रहेको उल्लेख गर्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई कारबाही गर्ने नीति संगठनले निरन्तर अपनाउँदै आएको बताए ।
त्यही बयानका आधारमा एसपी जोशीमाथि घुमुवा परिचालन गरेर तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै असुली धन्दा सञ्चालन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो । स्रोतका अनुसार मगरले ३८ नम्बर रिजर्भ गणका प्रमुख एसपी दिनेश बस्नेतलाई समेत रकम बुझाउने गरेको आरोप लाग्दै आएको छ । यद्यपि, बस्नेतलाई हालसम्म मुख्यालयले अनुसन्धानको दायरामा ल्याएको छैन ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्कीलाई सशस्त्र प्रहरीका जवान पारस यादवलगायतका कर्मचारीको बयानपछि मुख्यालय बोलाइएको स्रोतले जनाएको छ । उनीमाथि घुमुवा परिचालन गरेर नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको लाइन सञ्चालन गरेको आरोप छ । यादवलाई यसअघि नै मुख्यालय तानेर बयान लिइसकिएको थियो । अनुसन्धानमा संलग्न स्रोतका अनुसार घुमुवामार्फत विभिन्न मालवस्तु तथा लागुऔषधको तस्करी गराएर रकम असुलेको आरोपमा कार्कीमाथि छानबिन भइरहेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्कीमाथि पनि सीमा क्षेत्रमा तस्करीको लाइन सञ्चालन गर्न सहयोग गरेको र लागुऔषध तस्करसँग मिलेमतो गरी रकम असुलेको आरोप लागेको छ । पछिल्लो समय हरिपुर नाकाबाट नेपालबाट भारततर्फ गाँजा तथा भारतबाट नेपालतर्फ लागुऔषध, लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अवैध ओसारपसार बढेको थियो । त्यसमा सशस्त्र प्रहरीले सहजीकरण गरेको आरोप लागेपछि उनी अनुसन्धानमा तानिएका हुन् । काँकडभिट्टामा कार्यरत रहँदा पनि डीएसपी कार्कीले तस्करीको लाइन सञ्चालन गरेको आरोप लागेको थियो । ‘विशेष गरेर काँकडभिट्टाको विषयलाई लिएर तानिएको हो ।
सुनसरीमा पनि बदमासी देखिएपछि अनुसन्धान अघि बढाइएको हो,’ मुख्यालय स्रोतले भन्यो । हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेतीमाथि झापाको काँकडभिट्टास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको इन्चार्ज हुँदा वरिष्ठ हवल्दार केशव गुरुङलाई घुमुवाका रूपमा परिचालन गरेर अवैध धन्दा सञ्चालन गरेको आरोप छ । गुरुङ यसअघि नै मुख्यालय तानिएका थिए । उनकै बयानका आधारमा उप्रेतीलाई पनि मुख्यालय बोलाएर अनुसन्धान सुरु गरिएको स्रोतले जनाएको छ ।
सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्दमाथि पनि लागुऔषध तथा अन्य मालवस्तुको तस्करी गराएर रकम असुलेको आरोप लागेको छ । तस्कर समूहसँग साँठगाँठ गरेर अवैध असुली गरेको विषयमा उनीमाथि अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । उनी विगतदेखि नै विवादित सशस्त्र अधिकृतका रूपमा चिनिँदै आएका छन् ।












