२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

: सत्ता गठन र विघटनको दौडमा प्रचण्डको विरोधाभाष : पार्टीभित्रै चुलियो असन्तुष्टि

 

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विरोधाभाष चरित्रलाई फेरि दोहोर्‍याएका छन् । बृहत् शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि पार्टीको ध्यान सत्ता केन्द्रित हुँदा गत वर्ष जेनजी आन्दोलनमा वामपन्थीहरू निरीह भएको अभिव्यक्ति दिएका प्रचण्डले २४ घण्टामै नेकपा एमालेसँग प्रदेश सत्ता भागबण्डाको सहमतिपत्रमा हस्ताक्षर गरे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा साउन ८ गते काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले फेरि सत्ता केन्द्रित राजनीतिको खेलमा लागिए वामपन्थी आन्दोलमा ठुलो धक्का लाग्ने बताएका थिए ।

‘हामीले काठमाडौँमै सरकार र सत्ताको समीकरणको कार्यनीतिक काम गर्‍यौँ । त्यो ट्याक्टिकल कुरा थियो । रणनीतिलाई हामीले छोड्यौँ या भुल्यौँ या विचारको महत्त्वलाई अबमूल्यन गर्‍यौँ । निरन्तर स्कुलिङको आवश्यकता, विकास र परिमार्जनको प्रक्रियालाई हामीले छोड्यौँ, भुल्यौँ या अबमूल्यन गर्‍यौँ या ध्यान दिएनौँ’, उनले भनेका थिए, ‘दिनदिनैका स–साना सुधारका कामहरू, सरकारका समीकरण बनाउने, प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका, प्रदेशमा निर्वाचित हुने कुरालाई हामीले रणनीतिक जस्तो बनाउन पुग्यौँ । यही नै सबै हो जस्तो गरियो । मेरो विचारमा संश्लेषित रूपमा भन्नुपर्दा हाम्रो कम्युनिस्टहरूको गल्ती वा कमजोरी त्यही नै भयो भन्ने मलाई लागेको छ ।’
प्रचण्डले विगतका गल्ती–कमजोरी पहिलोपटक स्विकारेका होइनन् । पार्टीको आन्तरिक बैठक, सार्वजनिक कार्यक्रममा उनले पटक–पटक वामपन्थीहरूले आफ्ना वर्ग समुदायको हितमाभन्दा पनि सत्ता केन्द्रित राजनीतिक गर्दा निरीह बनेको, त्यसबारे गम्भीर संश्लेषण गरी वमपन्थी शक्तिहरूबिच सहकार्य, एकता र ध्रुवीकरणमा प्रचण्डले जोड दिँदै आएका थिए ।
शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमतिमा दुई दलबिच पाँच प्रदेशको भागबन्डा मिलाउनुको साथै मधेस र गण्डकी प्रदेशमा सत्ता सहकार्यका लागि अन्य दलसँग परामर्श गर्ने बाहेक कुनै विषय समेटिएको छैन । उक्त सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने, सुदूरपश्चिम र कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने भनिएको छ । मधेस र गण्डकी प्रदेशमा सरकार गठनको सन्दर्भमा त्यहाँ प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ ।
जबकि शनिबार बिहानसम्म पनि नेकपाका शीर्ष नेताहरूले प्रदेशमा सकेसम्म सर्वदलीय सरकार (कांग्रेस, एमाले, नेकपा समेत)को संयुक्त सरकार बनाउने, त्यो सम्भव नभए सम्बन्धित प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिनेगरी पार्टीले नीतिगत निर्णय गर्ने भनिरहेका थिए । वार्ता टोलीका सदस्य रहेका प्रमेश हमालले संयुक्त सरकार बनाउने विषयमा पार्टीले पहल गरिरहेको दाबी गरेका थिए ।

‘हामी अहिले कुनै एक पार्टीलाई लिएर प्रदेशमा सरकार बनाउने पक्षमा छैनौँ । हामी कम्तीमा पनि संविधान निर्माण पक्षधर शक्तिहरू मिलेर सरकार गठन गर्ने पक्षमा छौँ, तर प्रदेश सरकार नै नबन्ने स्थिति बनेमा सम्बन्धित प्रदेश समितिलाई निर्णय गर्ने अधिकार दिनेगरी पार्टीले निर्णय गर्ने छ’, हमालले भनेका थिए ।

प्रवक्ता प्रकाश ज्वालाले पनि प्रदेशमा सरकार नै बन्न नसक्ने स्थिति आएमा पनि केन्द्रले हस्तक्षेप नगर्ने जिकिर गरेका थिए । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले सर्वदलीय सरकार बन्ने स्थितिमा मात्र पार्टी प्रदेश सरकारमा जाने प्रस्ट पारेका थिए ।

‘संयोजक प्रचण्डले ओलीसँग प्रस्टसँग सर्वदलीय सरकार बन्ने स्थितिमा मात्र सरकारमा जाने भनेर प्रस्ताव राख्नुभएको छ । यदि सरकार नै बन्न नसक्ने स्थितिमा पनि केन्द्रले हस्तक्षेप गर्दैन । आवश्यकता अनुसार सम्बन्धित प्रदेशले नै निर्णय गर्नेगरी पार्टीले नीतिगत निर्णय गर्छ’, आचार्यले भनेका थिए ।

एमाले र नेपाली कांग्रेसबिच भएको पूर्वसहमति भत्किएपछि ओली र प्रचण्ड फेरि एक ठाउँमा उभिनुलाई राजनीतिक वृत्तमा सत्ता स्वार्थका रूपमा हेरिएको छ । विश्लेषक डम्बर खतिवडाले ओली र प्रचण्ड पुनर्मिलनले तत्विक भिन्नता नल्याउने दाबी गरे । त्यसको सान्दर्भिकता नै समाप्त भएको उनको विश्लेषण छ ।

‘ओली–प्रचण्ड पुनर्मिलनले तात्विक भिन्नता ल्याउँदैन । त्यसले सान्दर्भिकता गुमाइसकेको छ, तर पनि ती मिलुन् किनकि एकै विचार–प्रकारका धेरै वटा पार्टी जरुरी छैन’, समाजिक सञ्जाल एक्समा खतिवडाले लेखेका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।