काठमाणडौ,श्रावण १६ । विश्वका सम्पूर्ण हिमाल आरोहण पारखीहरू पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोको समाचारले दुःखी भएका छन् । सबैको एउटै चाहना थियो, विश्वविख्यात रेकर्ड होल्डर निर्मल पुर्जा र उनको टिम फर्किएको सुखद समाचार सुन्ने । तर शनिबार दिउँसो पुर्जा लगायत सम्पूर्णको मृत्यु भइसकेको खबरले स्तब्ध बनाएको छ ।
हिमाल आरोहणमा प्रभावशाली ब्रान्ड बनेका म्याग्दीको दानामा सन् १९८७ मा जन्मिएका पुर्जा सम्पूर्ण कुरालाई सम्भव बनाउने प्रयास गर्ने। उनले सन् २०१९ मा विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्वकीर्तिमान बनाए । त्यो पनि अक्सिजन बिना । उनी यस पटक १४ वटै हिमालमा अक्सिजनको सहारा बिना दुई–दुई पटक चढेर नयाँ रेकर्ड बनाउने तयारीमा थिए । ब्रोड पिकको आरोहणपछि उनले चोयु हिमाल चढ्ने र उनको रेकर्ड पूरा हुने भएकाले सकुशल ब्रोड पिकसम्म पुगेर आउन हिमालमा प्रार्थना गरेका थिए ।

आफूलाई कसैको प्रतिस्पर्धी नमानेको र आफ्नै क्षमता र सीपलाई कतिसम्म फैलाउन सक्छु भनेर एक प्रकारको परीक्षणमा थिए उनी । तर, दुर्भाग्यवश हिमपहिरोमा परे। करिब–करिब सम्पन्न हुनै लागेको उनका योजनाहरू ब्रोड पिक हिमपहिरोमै पुरिए ।
सन् २००३ मा ब्रिटिस सेनामा भर्ती भएर सेनाको स्पेसल बोट सर्भिसमा काम गर्ने पहिलो नेपाली थिए। उनको सहनशीलता र व्यवस्थापन सीपले उनलाई हिमाल आरोहणमा लाग्न प्रेरित गरेको छ। १६ वर्ष ब्रिटिस सेनामा बिताएका उनले सन् २०१६ पछि आफ्नो सम्पूर्ण समय हिमाल आरोहणका क्षेत्रमा समर्पित गरेका थिए ।
ब्रोड पिक हिमाल आरोहण गर्ने योजनामा नभए पनि पाकिस्तान आएको बेला अकस्मात् निर्णय लिएको जानकारी आफ्नो फेसबुकमार्फत सबैलाई दिँदै उनी त्यतैबाट कहिल्यै नफर्किने गरी अनन्त यात्रामा लागे ।












