काठमाडौं : सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गरेकी छन् ।
संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो ।
भेटमा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा रहेको उनले उल्लेख गरे ।
उनले हालै युरोपेली संघका विभिन्न सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भएको उल्लेख गर्दै निकट भविष्यमा युरोपेली संघसँग पनि संसदीय मैत्री समूह गठन गरिने जानकारी दिए । यस्ता मैत्री समूहहरूले संसदीय कूटनीति सुदृढ गर्न तथा नेपाल–युरोपेली संघबीचको संसदीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरे । सभामुख अर्यालले नेपाल–युरोपेली संघ संयुक्त आयोगका नियमित बैठकहरूले द्विपक्षीय सहयोगका विविध क्षेत्रको समीक्षा तथा सहकार्य विस्तारका लागि महत्वपूर्ण संयन्त्रका रूपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।












