२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

सरकारविरुद्ध खनिए रास्वपाकै सांसद

 

काठमाडौं श्रावण २३ : सत्तासीन रास्वपाका सांसदहरूले जनजीविकाका सबालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकारविरुद्ध संसद्मै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए ।

रास्वपा सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक भएको बताए । उनले भने, ‘सरकार सञ्चालन गर्न कताकता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्‍याउनुपर्छ।’ रास्वपाका निवर्तमान प्रवक्तासमेत रहेका झाले प्रधानमन्त्री वालेन्द्र शाहप्रति तिखो कटाक्ष पनि गरे । ‘हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवत :  कालो चस्मा पनि हटाउनुपर्छ। त्यो पनि आवश्यक छ,’ उनले भने। उनले सुनसरी घटना मत्थरमात्रै भएको बताउँदै समस्याको मूल कारण अझै बाँकी रहेको बताए । उनले थपे, ‘सुनसरी घटनामा जसोतसो आगो निभाउन सक्यौं। तर, आगो निभेको हो, दाउरा निभेको छैन।’

 

 

झाले सामाजिक न्याय र लोकतन्त्रबीच सन्तुलन कायम हुन नसके राज्य कमजोर बन्ने चेतावनी दिए । ‘अहिले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणमा के मूलमन्त्र आवश्यक छ भनेर हेर्दा मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास यी दुई वटा कुरालाई मूलमन्त्र बनाएर हामीले राज्य सञ्चालनदेखि सबै कुराहरू त्यसमा केन्द्रित गर्‍यौं भने मात्र केही हासिल गर्न सक्छौं।’

सांसद झाले सरकारद्वारा निजी क्षेत्रलाई नियन्त्रण वा त्रासको वातावरणमा राख्नुभन्दा प्रोत्साहन गर्नुपर्ने बताए। प्रहरीमार्फत निजी क्षेत्रलाई तर्साउने प्रवृत्ति अन्त्य गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार अग्रसर हुनुपर्ने उनको भनाइ छ। उनले मधेस, निजी क्षेत्र र प्रवासी नेपालीलाई लक्षित गरी सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए।

रास्वपाका अर्का सांसद रमेश प्रसाईंले प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास अभाव भए, नभएको भन्दै कटाक्ष गरे। ‘यो ग्यासको अभाव देशैभरि छ। मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन ? ’ प्रसाईंले भने, ‘यदि कृत्रिम अभाव सिर्जना भएको हो र सरकारले भनेजस्तै ग्यास आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई–तिहाइको सरकारलाई ? ’ उनले चुनावका बेला आफूहरूले ‘लाइनको सट्टा अनलाइन’को व्यवस्था गर्ने भाषण गरेको पनि स्मरण गरे। ‘मैले चुनावका बेला सरकारी कार्यालयमा ‘नो लाइन, रास्वपाका पालामा ओन्ली अनलाइन’ भनेर गरेका भाषण सम्झँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि–रातभरि लाइनमा बसेको दृश्य देख्दा मलाई चाहिँ साच्चिकै लाज लागेको छ।’

रास्वपाका अर्का सांसद पारसमणि गेलालले मल र ग्यासका लागि नागरिकहरू लाइनमा बसिरहेको भिडियो आइरहेकाले मन्त्रालयले त्यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताए। उनले आफ्नै गृह जिल्लाको विषय उल्लेख गर्दै भने, ‘बेलका, त्रियुगा र चौदन्डीगढी नगरपालिकामा मल लिनका लागि हजारौं नागरिकहरू लाइनमा बसेको भिडियो विभिन्न सञ्चारमाध्यमहरूबाट मलाई ट्याग गरेर आइरहेका छन्। साँच्चै मल छैन भने मन्त्रालयले छैन भनिदिनुपर्‍यो।’ उनले मन्त्रालयले मल पर्याप्त छ भनिरहेको अवस्थामा त्यो मल आफूहरूले सम्बन्धित नगरपालिकाका मेयरहरूसँग समन्वय गरेर त्यहाँसम्म पुर्‍याउन तयार रहेको बताए।

‘हामी सांसदहरूलाई त्यसको भूमिका दिनुपर्‍यो,’ उनले भने। सांसद गेलालले गाउँगाउँमा ग्यासको पनि हाहाकार रहेको बताउँदै वास्तविक अवस्था के हो जानकारी गराउन सरकारसँग माग गरे। ‘छैन भने आवश्यक मात्रामा ग्यास छैन, वैकल्पिक रूपमा त्यसको प्रबन्ध गरौं भनेर हामी नागरिकहरूलाई आह्वान गर्छौं। यदि छ भने त्यो ग्यास कहाँ छ, भनिदिनुपर्‍यो,’ उनले भने।

सांसद इन्दिरा रानामगरले ग्यास अभावका कारण नागरिक सास्तीमा परेको बताइन्। उनले भनिन्, ‘ग्यास नपाएर जनता प्रताडित छन्। जतिसक्दो चाँडो ग्यास आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

रास्वपाकी अर्का सांसद टीका संग्रौलाले मृत्यु भएपछि पनि दाहसंस्कारका क्रममा कर तिर्नुपर्ने विषयमा प्रश्न उठाइन् । ‘यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले नि : शुल्क उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।