दोलखाको यलुङ, श्रावण २५ रि हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव भेटिएको छ । गौरीशंकर गाउँपालिका-९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–रि हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव ९ महिनापछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार शुक्रबार नै शव फेला परेको थियो । मौसम प्रतिकूल हुँदा सोमबार मात्रै शव हिमालबाट तल ल्याइएको हो। त्यसमध्ये दुई जनाको शव हेलिकप्टरबाट आजै काठमाडौं लगिएको पनि इन्स्पेक्टर खड्काले बताए ।
उनका अुनसार भेटिएका शवहरू २ नेपालीको छ। उनीहरू दोलखाको गौरीशंकरकै पदम तामाङ र सोलुखुम्बुका मेरे कार्की रहेको इन्स्पेक्टर खड्काले बताए ।
त्यस्तै बाँकी तीन शवहरू एक क्यानडेली, एक इटालियन र १ जना जर्मन नागरिकका हुन् । गत वर्षको कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए । त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका थिए ।
मृत भेटिएका दुई नागरिकहरू एक जना फ्रान्सेली र एकजना इटालियन थिए । बाँकी ५ जना भने बेपत्ता भएका थिए।आरोहणको व्यवस्थापन गर्ने कम्पनी ड्रिम डेस्टिनेसनले समय समयमा त्यहाँ खोजी कार्य चलाइरहेको थियो । सोही क्रममा शुक्रबार शव भेटिएका हुन् ।












