बिर्तामोड,श्रावण २६ : पूर्वी सीमा नाका काँकडभिट्टाबाट भइरहेको तस्करी (भन्सार छली) नियन्त्रण गर्न पछिल्लो समय झापामा सुरक्षा निकायबीच नै प्रतिस्पर्धा देखिन थालेको छ।
विशेषगरी असार २२ पछि मेचीनगरको काँकडभिट्टा लगायतका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले भन्सार छलीका सामान तथा ती सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने होडबाजी नै चलेको छ ।
सीमा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको तस्कर समूह (अवैध कारोबार गर्नेहरू) माथि एकाएक सुरक्षा निकायको निगरानी बढेपछि ‘कसले बढी सामान नियन्त्रण गर्ने’ भन्ने खालको प्रतिस्पर्धा देखिन थालेको पछिल्ला केही घटना क्रमहरूले प्रस्टाएको छ। यसले सुरक्षा निकायबीच एउटा गम्भीर प्रश्नसमेत जन्माएको छ- ‘सीमा क्षेत्रमा अवैध कारोबार साँच्चिकै नियन्त्रण हुन थालेको हो वा माथिल्लो तहबाट दबाब परेपछि केही समयका लागि मात्र ‘एक्सन’ काम देखाउन बरामद गर्न थालिएको हो ?’
कारोबारीहरूले मासिक रकम बुझाएर अवैध कारोबार सञ्चालन गर्दै आइरहेको कारण भन्सारको राजश्व संकलनमा समेत भारी गिरावट आएको छ ।
कारोबारीहरूले काँकडभिट्टाको मेची पुल, सतीघट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरीङ, बंशल बगानलगायतको क्षेत्रबाट सरसामान भित्राइरहेका छन् । अवैध रुपमा भित्राइएका सरसामानहरू पोका र कमिसन सिस्टमले बिर्तामोडसम्म पुर्याइन्छ। लत्ताकपडा ६ देखि ८ हजार पोकामा र अन्य सामान १० देखि १५ प्रतिशत कमिशन सिस्टममा पुर्याउने गरेको कारोबारी स्रोतको दाबी छ।
६ देखि ८ हजार पोकामै लत्ताकपडा काँकडभिट्टा नाकाबाट सोजै भित्रिरहेकोले बिर्तामोडका केही नाम चलाउँदा ठूला व्यापारीहरूले भद्रपुर भन्सार कार्यालयमा ल्याउनै छाडिसकेका छन् । जसकारण भद्रपुर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकिरहेको छैन । भद्रपुर भन्सारका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२÷८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र संकलन भएको हो । सुर्तीले मात्र राजश्व थामिरहेको उनको भनाइ छ ।
त्यसैगरी साउन १९ गते बिहान २ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारतबाट भन्सार छलेर ल्याई भण्डारण गरिएको ठूलो मात्रामा लत्ताकपडा, कस्मेटिक सामग्री तथा हार्डवेयरका सामान बरामद गरेको थियो ।
मेचीनगर–७ निवासी कोपिला तामाङको घरमा खानतलासी गर्दा घरभित्र लुकाइछिपाई राखिएको १८ लाख ७४ हजार ९१० रुपैयाँ अवैध सामान बरामद गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको थियो ।
साउन २० गते ५ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेचीनगर ६ हनुमान मन्दिर अगाडि भारतबाट अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको मोबाइलको विभिन्न प्रकारको सहायक सामाग्री र बच्चाको कपडा बरामद गरेको थियो। दुई लाख ६६ हजार रुपैयाँ तोकेर मेची भन्सार बुझाइसकेको छ।
साउन २१ गते दिउँसो ४ बजे सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाको टोलीले मेचीनगर १५ स्थित बंशल सीमा क्षेत्रबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, इलेकट्रोनिक्स सामानहरूसहित दुईवटा सिटी सफारीलाई नियन्त्रणमा लिएको थियो। सामानसहित सिटी सफारीलाई ५ लाख ४५ हजार ६५० मुल्य तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ।












