२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

घर बसी बसी आम्दानी गर्न सकिने लोभमा लिंक क्लिक गर्दा कोरियामा कमाएको २९ लाख एक रातमै गायब

 

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेर फर्किएका बिनोजकुमारले पसिना बगाएर कमाएको रकम रातभरमै गुमाउनु परेको छ । सामाजिक सञ्जाल फेसबुकमा देखिने ‘लोभलाग्दो’ विज्ञापनको लिंकमा क्लिक गर्दा उनका तीनवटा बैंक खातामा रहेको २७ लाख ८१ हजार रुपैयाँ लुटिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले केही दिन अघि मात्र काठमाडौं जिल्ला अदालतमा यस सम्बन्धी अभियोगपत्र दायर गरेको छ । जसअनुसार, बिनोजकुमार (परिवर्तित नाम) ले कोरियाबाट फर्केपछि ग्लोबल आईएमई बैंक, महालक्ष्मी विकास बैंक र प्रभु बैंकमा आफ्नो बचत जम्मा गरेका थिए । ती खाताहरूलाई उनले डिजिटल भुक्तानीका लागि कनेक्ट आईपीएसमा लिंक गरेका थिए ।

७ जुलई २०२५ को साँझ बिनोजकुमार आफ्नो घरमा बसेर फेसबुक चलाइरहेका थिए । त्यसै क्रममा उनले ‘घर बसी बसी आम्दानी गर्न सकिने’ ब्यहोराको एउटा पोस्ट देखे । पैसा कमाउने लोभमा परेर उनले उक्त पोस्टमा रहेको लिंकमा क्लिक गरे । लिंक क्लिक गरे पनि कुनै पेज खुलेन, त्यसपछि उनले फेसबुक बन्द गरेर सुते ।

भोलिपल्ट अर्थात् जुलाई ८ को बिहान उठेर मोबाइल हेर्दा उनी छाँगोबाट खसेजस्तै भए । उनको मोबाइलमा बैंकबाट रकम बाहिरिएको एसएमएसको ओइरो थियो । ७ जुलाईको रातिदेखि ८ जुलाईको बिहानसम्मको बीचमा उनको तीनवटै बैंक खाताबाट पटक-पटक गरी कूल २७ लाख ८१ हजार रुपैयाँ गायब भइसकेको थियो ।

प्रहरीको साइबर ब्युरोले गरेको प्राविधिक अनुसन्धान र बैंकहरूबाट प्राप्त स्टेटमेन्ट अनुसार, बिनोजकुमारको खाताबाट चोरिएको रकम विभिन्न व्यक्तिहरूको बैंक खाता र डिजिटल वालेटमा पुगेको देखिन्छ ।

अभियोगपत्रका अनुसार सबैभन्दा ठुलो हिस्सा अर्थात् २७ लाख ४१ हजार रुपैयाँ ७४ पटक गरी सिराहाका १९ वर्षीय आशिक यादवको नबिल बैंकको खातामा पुगेको छ । बाँकी रकममध्ये २० हजार रुपैयाँ बागलुङकी २६ वर्षीया सीता थापा र अर्को २० हजार रुपैयाँ पर्साका २१ वर्षीय कृष्णनन्दनकुमार कुशवाहाको खल्ती वालेटमा ट्रान्सफर भएको छ ।

प्रहरीले ती व्यक्तिहरूको केवाईसी विवरण र डिजिटल बैंकिङ स्टेटमेन्टलाई मुख्य प्रमाणका रूपमा पेस गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले तीनै जना आरोपी विरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । आरोपीहरू हाल फरार रहेको भन्दै उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसुरमा कारबाही माग गरिएको छ ।

अभियोगपत्रमा आरोपीहरूलाई सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) अनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना गर्न माग दाबी गरिएको छ । साथै, पीडित बिडारीको गुमेको २७ लाख ८१ हजार रुपैयाँ दफा २५४ बमोजिम आरोपीहरूबाटै असुल गरी भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क समेत भराउन माग गरिएको छ ।

(सचेतनाको लागी फेरी रि पोष्ट गरिएको)

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।