२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

विश्वासको मत लिने मिति सार्दै लुम्बिनीका मुख्यमन्त्री

 

भालुबाङ्ग,श्रावण २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने मिति सारेका छन् । साउनको अन्तिमतिर विश्वासको मत लिने तयारीमा रहेका उनले अब भदौको पहिलो सातातिरमात्र लिने योजना बनाएका छन् ।

केही प्रदेश सभा सदस्य बाहिर रहेका कारण भदौको पहिलो साता विश्वासको मत लिने तयारी गरिएको उनले लाल बिहानीलाई जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले भने, ‘केही सांसद बाहिर हुनुहुन्छ । यसका अतिरिक्त अन्य केही कारणले गर्दा भदौको सुरुवातमा विश्वासको मत लिने तयारी गरेका छौँ । सम्भवतः भदौ १ गते लिन्छौँ होला ।’
विश्वासको मत लिनुअघि नै प्रदेश सभा बैठक आह्वान हुने मुख्यमन्त्री आचार्यले बताए । उनका अनुसार त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।
नेपाली कांग्रेसले साउन १२ गते लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संविधान अनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले साउन ३० गतेभित्र प्रदेश सभा बैठक बोलाउने विषयमा सरकारसँग छलफल भइरहेको बताए ।
सभामुख घर्तीले प्रदेश सभा बैठक आह्वानका विषयमा आन्तरिक छलफल भइरहेको जानकारी दिँदै मुख्यमन्त्रीले विश्वासको मत लिन आवश्यक तयारी गरेमा बैठक बोलाउन समस्या नहुने जानकारी दिए । उनले विश्वासको मत लिने विषय मुख्यमन्त्रीको तयारी र आवश्यकतामा निर्भर रहने स्पष्ट पारे ।

यसैबिच, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व गर्ने एमालेले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ ।

नेकपाका लुम्बिनी प्रदेशका निवर्तमान संयोजक तथा पूर्वमन्त्री सुदर्शन बरालले राप्रपालाई सरकारमा सहभागी गराउने वा नगराउने विषय केन्द्रबाट छिटै टुङ्ग्याउनुपर्ने बताए । उनले अन्य प्रदेशको अवस्थासमेत हेरेर केन्द्रले निर्णय गर्नुपर्ने भन्दै लुम्बिनीमा पनि केन्द्रको निर्णय कुरिरहेको प्रस्ट पारे ।

बागमतीसहित अन्य प्रदेशमा राप्रपासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेकाले त्यसको प्रभाव लुम्बिनीमा पनि पर्न सक्ने सत्ता गठबन्धनका नेताहरूको बुझाइ छ । लुम्बिनी प्रदेश सभामा राप्रपाका चार सांसद छन् । राप्रपाका प्रदेशसभा प्रमुख सचेतक मिना श्रेष्ठले भने सरकारमा सहभागी हुने वा नहुने विषयमा लुम्बिनी प्रदेशमा औपचारिक छलफल नभएको लालबिहानीलाईलाई बताइन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पनि राप्रपा सरकारमा आउन चाहे सहकार्य गर्न सकिने सङ्केत गरेका छन् । उनले सरकारमा राप्रपा सहभागी हुने अवस्था आए सँगै लैजान सकिने बताए । तर, अहिलेसम्म यस विषयमा औपचारिक र स्पष्ट छलफल भने नभएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य छन् । बहुमतका लागि कम्तीमा ४२ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले यी दुई दलको मात्रै समर्थनले बहुमत पुग्दैन । त्यसैले सरकारलाई थप दलको समर्थन आवश्यक देखिन्छ । 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।