काठमाडौं, श्रावण २७ : निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा समेट्ने तयारी भइरहँदा थप दुई सचिवले राजीनामा दिएका छन्।
सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा दिएका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैको राजीनामा स्वीकृत गरेको छ।
अधिकारी केही दिनपछि अवकाश हुँदै थिए भने पोखरेलको कार्यकाल एक वर्ष बाँकी थियो। ३० वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्थाअनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न राजीनामा दिन थालेका हुन् ।
सोमबार कानुन मन्त्रालयले ३०–५५ प्रावधानसहितको सहमति दिएर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विधेयक फिर्ता पठाएको थियो। संघीय मामिलाले सहमतिका लागि उक्त विधेयक अर्थ मन्त्रालयमा पठाइसकेको छ।
निजामती कर्मचारीको ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न सरकार र सत्तारूढ दलको बढी चासो छ।












